१० दिनपछि सुरुङबाट जीवितै उद्धार गरिएका साहको स्वास्थ्य सामान्य
रसुवा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि त्रिशूली थ्री ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका सञ्जय साहलाई १० दिनपछि जीवितै उद्धार गरिएको छ। उद्धारपछि गरिएको स्वास्थ्य परीक्षणमा साहको अवस्था सामान्य रहेको नेपाली सेनाले जनाएको छ।
नेपाली सेना र सशस्त्र प्रहरीसहितको संयुक्त उद्धार टोलीले सुरुङबाट साहलाई उद्धार गरी स्वास्थ्य परीक्षण गरेको थियो। परीक्षणका क्रममा उनको स्वास्थ्य अवस्था सामान्य देखिएको सेनाले जनाएको हो।
साहसँगै सुरुङबाट जीवितै उद्धार गरिएका कवीर महर्जनलाई भने थप उपचारका लागि काठमाडौं ल्याइएको छ। महर्जनलाई हेलिकप्टरमार्फत छाउनीस्थित नेपाली सेनाको अस्पतालमा उपचारका लागि ल्याइएको जनाइएको छ।
बाढीपछि सुरुङभित्र फसेका साह र महर्जनलाई नेपाली सेना तथा सशस्त्र प्रहरीसहितको संयुक्त उद्धार टोलीले निरन्तर प्रयासपछि १० दिनमा जीवितै उद्धार गरेको हो।