नारायणी अस्पतालबाट चोरी भएको नवजात शिशु १६ घण्टापछि सकुशल फेला, महिला पक्राउ

85

वीरगञ्ज । नारायणी अस्पतालबाट चोरी भएको नवजात शिशुलाई प्रहरीले करिब १६ घण्टापछि सकुशल फेला पारेको छ। शिशुलाई लिएर अस्पतालबाट बाहिरिएकी एक महिलालाई प्रहरीले वीरगञ्ज महानगरपालिका–१६ इनर्वाबाट पक्राउ गरेको छ।

पक्राउ पर्नेमा इनर्वाकी सबिना खातुन रहेकी पर्साका प्रहरी उपरीक्षक पवन भट्टराईले जानकारी दिए। उनका अनुसार घटना सार्वजनिक भएलगत्तै प्रहरीले खोजी तथा अनुसन्धानलाई तीव्र बनाएको थियो।

रातभर गरिएको खोजीपछि सोमबार बिहान प्रहरीले खातुनलाई नवजात शिशुसहित नियन्त्रणमा लिएको हो। अहिले शिशु र पक्राउ परेकी महिलालाई जिल्ला प्रहरी कार्यालय पर्सामा राखिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार सर्लाहीको रामनगर गाउँपालिका–३ बहुअर्वाकी रिन्कु देवीले शनिबार राति करिब ११ बजे नारायणी अस्पतालमा शल्यक्रिया मार्फत छोरालाई जन्म दिएकी थिइन्। जन्मिएको करिब एक दिनमै शिशु अस्पतालबाट गायब भएपछि परिवारमा तनाव उत्पन्न भएको थियो।

अस्पतालमा शिशुसँग रहेकी हजुरआमासँग एक अपरिचित महिलाले बच्चा खेलाउने भन्दै शिशु मागेकी थिइन्। हजुरआमाले ती महिलाको हातमा शिशु दिएपछि उनी बच्चा सहित अस्पतालबाट बाहिरिएकी थिइन्।

ती महिला लामो समयसम्म नफर्किएपछि परिवारले तत्काल प्रहरीलाई खबर गरेको थियो। त्यसपछि प्रहरीले अस्पतालमा उपलब्ध विवरण, सम्भावित आवतजावतका क्षेत्र तथा अन्य सूचनाका आधारमा खोजी थालेको थियो।

लगातारको खोजीपछि इनर्वाबाट शिशु सहित महिला पक्राउ परेपछि परिवारले राहतको महसुस गरेको छ। प्रहरीले शिशु चोरी गर्नुको कारण, घटनामा अन्य व्यक्तिको संलग्नता तथा घटनाको वास्तविकताबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

Leave A Reply

Your email address will not be published.