रसुवाका पीडित परिवारका लागि प्याब्सन पर्सा र वीरगञ्ज महानगर एकजुट

61

वीरगञ्ज, ११ भदौ ।

रसुवामा भोटेकोशी नदीमा आएको विनाशकारी बाढी तथा हिमपहिरोबाट प्रभावित परिवारको राहत, उद्धार तथा पुनःस्थापनाका लागि निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) जिल्ला कार्यसमिति पर्सा र प्याब्सन महानगर वीरगञ्जले राहत संकलन अभियान सञ्चालन गर्ने भएका छन्।

प्याब्सन पर्सा र वीरगञ्ज महानगरले संयुक्त अपिल जारी गर्दै जिल्लाका सम्पूर्ण सदस्य विद्यालयलाई अभियानमा सहभागी हुन आग्रह गरेका छन्। प्राकृतिक विपत्तिका कारण ठूलो जनधनको क्षति भएको तथा धेरै परिवारले आफन्त, घर, आवास र सम्पत्तिसमेत गुमाएर संकटको सामना गरिरहेको भन्दै पीडित परिवारप्रति गहिरो समवेदना व्यक्त गरिएको छ।

प्याब्सनले विपद्मा परेका नागरिकलाई सहानुभूतिमा मात्र सीमित नराखी आफ्नो सामर्थ्यअनुसार सहयोग गर्नु मानवीय तथा सामाजिक दायित्व भएको जनाएको छ। सदस्य विद्यालय, अभिभावक, विद्यार्थी, शिक्षक–शिक्षिका तथा कर्मचारीलाई स्वेच्छिक रूपमा राहत अभियानमा सहभागी हुन अपिल गरिएको छ।

विद्यालयहरूले आफ्नो क्षमता र इच्छाअनुसार सहयोग रकम संकलन गरी प्याब्सन पर्साले तोकेको बैंक खातामा जम्मा गर्न सक्ने जनाइएको छ। सहयोग रकम ठूलो वा सानोभन्दा पनि विपत्तिमा परेका परिवारप्रति देखाइने सद्भाव, सहयोग र एकताको भावना महत्वपूर्ण हुने प्याब्सनको भनाइ छ।

संकलित सहयोग रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिने प्याब्सन पर्साले जनाएको छ। उक्त रकम विपद् प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा उपयोग हुने विश्वाससमेत व्यक्त गरिएको छ।

संयुक्त अपिलमा आज रसुवामा आएको विपत्ति भोलि अन्यत्र पनि आउन सक्ने भएकाले विपद्को समयमा एकअर्काको साथमा उभिनुपर्नेमा जोड दिइएको छ। विद्यालय शिक्षा प्रदान गर्ने संस्था मात्र नभई सामाजिक उत्तरदायित्व र संवेदनशील नागरिक निर्माण गर्ने महत्वपूर्ण केन्द्र भएकाले विद्यार्थी, अभिभावक तथा समाजमा सेवा, सहयोग, करुणा र मानवताको सकारात्मक सन्देश प्रवाह गर्न सामूहिक रूपमा अघि बढ्न प्याब्सनले आह्वान गरेको छ।

संयुक्त अपिलमा प्याब्सन महानगर वीरगञ्जका अध्यक्ष राहुल श्रीवास्तव र प्याब्सन जिल्ला कार्यसमिति पर्साका अध्यक्ष सरोज प्रसाद चौधरीले हस्ताक्षर गरेका छन्।

राहत सहयोगका लागि खाता नाम: PABSON PARSA, खाता नम्बर: 02901000000077500178, बैंक: प्राइम कमर्सियल बैंक लिमिटेड, वीरगञ्ज शाखा रहेको प्याब्सनले जनाएको छ।

Leave A Reply

Your email address will not be published.