बाढीपीडितका लागि हरिखेतान बहुमुखी कलेजले गर्‍यो ५ लाख सहयोग

38

वीरगञ्ज, १३ भदौ ।

वीरगञ्जस्थित हरिखेतान बहुमुखी कलेजले बाढी तथा पहिरोबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ लाख रुपैयाँ सहयोग गरेको छ।

कलेजले सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त रकम सहयोग गरेको हो। कलेज व्यवस्थापन समितिका सल्लाहकार जयप्रकाश खेतानका अनुसार सामुदायिक कलेजमध्ये बाढीपीडितका लागि प्रधानमन्त्री राहत कोषमा यति ठूलो रकम सहयोग गर्ने कलेजका रूपमा हरिखेतान बहुमुखी कलेज रहेको दाबी गरिएको छ।

कलेज परिसरमा आयोजित कार्यक्रममा व्यवस्थापन समितिका अध्यक्ष डा. राम औतार खेतान, सल्लाहकार जयप्रकाश खेतान, कोषाध्यक्ष सुरेश प्रसाद रुङटा, कलेज प्रमुख किशोरी रायलगायतको उपस्थितिमा ५ लाख रुपैयाँको चेक राहत कोषका लागि हस्तान्तरण गरिएको थियो।

कलेज प्रमुख रायले विपद्को समयमा शैक्षिक संस्थाले पनि सामाजिक दायित्व निर्वाह गर्नुपर्ने बताउँदै पीडित नागरिकको दुःखमा साथ दिन सहयोग गरिएको बताए। उनले आगामी दिनमा पनि विपद् तथा सामाजिक सेवाका क्षेत्रमा सहयोग र सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रममा सहभागी वक्ताहरूले बाढी तथा पहिरोबाट प्रभावित नागरिकको तत्काल राहतसँगै दीर्घकालीन पुनःस्थापनाका लागि सरकारी तथा गैरसरकारी क्षेत्रबाट थप सहयोग आवश्यक रहेको बताएका थिए।

Leave A Reply

Your email address will not be published.