बाढीपीडितको राहत तथा उद्धारका लागि होटल आदर्श इनद्वारा ५१ हजार सहयोग
वीरगञ्ज, १२ भदौ। देशका विभिन्न भागमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि वीरगञ्जस्थित होटल आदर्श इनले ५१ हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ।
होटल आदर्श इनका सञ्चालक तथा युवा व्यवसायी एवं समाजसेवी विजय सर्राफले सामाजिक उत्तरदायित्वअन्तर्गत बाढीपीडितका लागि उक्त रकम सहयोग गरेका हुन्।
बाढीका कारण विभिन्न क्षेत्रमा ठूलो जनधनको क्षति हुनुका साथै सयौँ परिवार प्रभावित भइरहेका बेला पीडितको राहत तथा उद्धारमा सहयोग पुगोस् भन्ने उद्देश्यले सहयोग गरिएको सर्राफले बताए।
विपद्को कठिन परिस्थितिमा एकअर्कालाई साथ दिनु नै सच्चा नेपालीपन र मानवताको परिचय भएको उल्लेख गर्दै सर्राफले बाढी प्रभावित नागरिकको दुःखमा मलम लगाउने उद्देश्यले आफ्नो तर्फबाट सहयोग गरेको बताए।
“एक नेपालीको रूपमा आफ्नो देश र नागरिकप्रति सहयोग गर्नु हाम्रो कर्तव्य हो। विपद्को यस घडीमा सबैले आफ्नो क्षमता र सामर्थ्यअनुसार बाढी प्रभावित नागरिकलाई सहयोग गर्न आवश्यक छ,” उनले भने।
सर्राफले बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकको तत्काल राहत, उद्धार र पुनःस्थापनाका लागि सरकारी तथा गैरसरकारी निकायसँगै निजी क्षेत्र, व्यवसायी, सामाजिक संघसंस्था र आम नागरिकले हातेमालो गर्नुपर्नेमा जोड दिए।
होटल आदर्श इनले यसअघि पनि सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न सामाजिक तथा मानवीय गतिविधिमा सहयोग गर्दै आएको जनाइएको छ।