जिराभवानीमा आगलागी पीडितलाई राहत, सन्तोष कुमारद्वारा घर निर्माण गर्ने प्रतिबद्धता
बीरगंज, २८ चैत — पर्साको जिराभवानी गाउँपालिका–१ बलुवामा आगलागीबाट घरबारविहीन बनेको एक परिवारलाई राहत सामग्री वितरण गरिएको छ भने स्थानीय युवा नेता सन्तोष कुमारले घर निर्माण गरिदिने प्रतिबद्धता व्यक्त गरेका छन्।
गत बिहीबार राति करिब ११:३० बजे लामखुटे भगाउन बालिएको मच्छर धुपबाट सल्किएको आगोले मोटर मुखिया बिनको घर पूर्ण रूपमा जलेर खरानी भएको थियो। आगलागीका कारण घरभित्र रहेका सम्पूर्ण सामग्री नष्ट भएका छन्।
जगरनाथपुरका युवा नेता बृजेश्वर चौधरीले घटनाबारे जानकारी गराएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का युवा नेता तथा जगरनाथपुर–२ जानकीटोल निवासी सन्तोष कुमार पीडित परिवारको घरमै पुगेर राहत वितरण गरेका हुन्। उनले २ बोरा चामल, १ बोरा आलु, १ प्याकेट प्याज र १ बोरा चिउरा लगायत खाद्यान्न सामग्री सहयोग गरेका छन्।
सन्तोष कुमारले आफ्नै लगानीमा पीडित परिवारका लागि नयाँ झोपडी घर निर्माण गरिदिने प्रतिबद्धता जनाएका छन्।
पीडित परिवारका अनुसार घर निर्माणका लागि लघुवित्त विकास बैंकबाट लिएको करिब ६ लाख रुपैयाँ नगदसमेत आगलागीमा जलेर नष्ट भएको छ। आगलागीमा चार वटा बाख्रा र एक गाईको समेत मृत्यु भएको जनाइएको छ।
यसैगरी लत्ताकपडा, भाँडाकुँडा, दराज, बाकस तथा खाद्यान्न सामग्रीलगायतका सबै सरसामान पूर्ण रूपमा नष्ट भएका छन्। हाल पीडित परिवार अत्यन्तै कठिन अवस्थामा रहेको र थप सहयोगको खाँचो रहेको स्थानीयवासीले बताएका छन्।
स्थानीय तथा सहयोगी मनहरूले सक्दो सहयोग गरी पीडित परिवारलाई राहत पुर्याउन अपिल गरिएको छ।