अर्जुन कुमालको शतकमा गण्डकीको शानदार जित, लुम्बिनी ८ विकेटले पराजित

41

वीरगञ्ज, चैत २९

ओपनर अर्जुन कुमालको उत्कृष्ट शतकीय प्रदर्शनमा गण्डकी प्रदेशले आइतबार प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशलाई ८ विकेटले पराजित गरेको छ। वीरगञ्जस्थित नारायणी क्रिकेट मैदानमा सम्पन्न खेलमा गण्डकीले सहज जित दर्ता गरेको हो।

लुम्बिनीले दिएको २०७ रनको लक्ष्य गण्डकीले ४४.१ ओभरमा मात्र दुई विकेट गुमाउँदै पूरा गर्यो। गण्डकीका लागि अर्जुन कुमालले अविजित १०३ रनको शानदार पारी खेले। उनले १३० बलमा एक छक्का र १३ चौका प्रहार गरे। जारी प्रतियोगितामा यो उनको दोस्रो शतक हो। यसअघि उनले कोशीविरुद्ध १०२ रन बनाएका थिए।

जारी प्रतियोगितामा हालसम्म ४९८ रन जोड्दै अर्जुन सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा शीर्ष स्थानमा रहेका छन्।

गण्डकीका अर्का ओपनर क्रिबिन श्रेष्ठले ४३ रन बनाए भने दिपक डुम्रे २५ रनमा अविजित रहे। मुस्कान थापाले २३ रनको योगदान दिए। लुम्बिनीका बलर सन्तोष यादव र दिनेश बोहोराले समान एक/एक विकेट लिए।

यसअघि टस जितेर ब्याटिङ रोजेको लुम्बिनीले ४५ ओभरमा सबै विकेट गुमाउँदै २०७ रन बनाएको थियो। लुम्बिनीका लागि सन्तोष यादवले सर्वाधिक ८० रन बनाए भने सलाउदिन खानले ६० रनको महत्वपूर्ण पारी खेले। दिनेश बोहोराले २० र कप्तान देव खनालले १४ रन जोडेका थिए।

गण्डकीका बलर विपिन खत्रीले उत्कृष्ट प्रदर्शन गर्दै चार विकेट लिए। अप्राजित पौडेलले तीन, क्रिबिन श्रेष्ठले दुई तथा विश्व कार्कीले एक विकेट लिए।

जितसँगै गण्डकीले आठ खेलबाट सात अंक जोडेको छ भने सात खेल खेलेको लुम्बिनीको पनि सात अंक रहेको छ।

Leave A Reply

Your email address will not be published.