वीरगञ्जमा कीर्तिमानको वर्षा, एपिएफको ३९० रनको विशाल योगफल, आसिफ शेखको ऐतिहासिक दोहोरो शतक
वीरगञ्ज । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा सशस्त्र प्रहरी बल (एपिएफ) क्लबले कीर्तिमानी योगफल बनाएको छ।
सोमबार वीरगञ्जमा सम्पन्न खेलमा मधेश प्रदेशविरुद्ध टस हारेर पहिले ब्याटिङ गरेको एपिएफले ४ विकेटको क्षतिमा ३९० रनको विशाल योगफल तयार पारेको हो।
एपिएफका विकेटकिपर–ब्याटर आसिफ शेखले ऐतिहासिक दोहोरो शतक प्रहार गर्दै २०८ रन बनाए। १४२ बल खेलेका उनले १५ चौका र १७ छक्का प्रहार गर्दै रिटायर्ड हट भएका थिए। उनी प्रधानमन्त्री कप इतिहासमै दोहोरो शतक बनाउने पहिलो खेलाडी बनेका छन्।
यसैसँगै आसिफले एकै खेलमा सर्वाधिक रन, सर्वाधिक चौका र सर्वाधिक छक्काजस्ता कीर्तिमान पनि आफ्नो नाममा लेखाएका छन्।
एपिएफका कप्तान रोहित पौडेलले ५५ रन र सन्दीप जोराले ५६ रनको योगदान दिएपछि टोलीले प्रतियोगिताकै सर्वाधिक योगफल खडा गरेको हो।
यसअघि यही संस्करणमा नेपाल पुलिस क्लबले एपिएफविरुद्ध ३५५ रन बनाउँदै कीर्तिमान बनाएको थियो। सो कीर्तिमान एपिएफले नै तोड्दै नयाँ इतिहास रचेको हो। सन् २०१८ मा एपिएफले मधेशविरुद्ध बनाएको ३३९ रनको पुरानो कीर्तिमान पनि यसै खेलले पछि पारेको छ।