वीरगञ्ज जेसीजद्वारा नर्सिङ विद्यार्थीलाई मानसिक स्वास्थ्य सचेतना कार्यक्रम सम्पन्न

159

वीरगञ्ज । वीरगञ्ज जेसीजको सप्ताहव्यापी कार्यक्रमअन्तर्गत चौथो दिन आज वीरगञ्जस्थित तराई अस्पतालमा सञ्चालित नेपाल कलेज अफ नर्सिङ एण्ड हेल्थ साइन्समा अध्ययनरत विद्यार्थीहरूका लागि मानसिक स्वास्थ्य सम्बन्धी सचेतनामूलक कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।

वीरगञ्ज जेसीज वर्ष २०२६ का अध्यक्ष जेसी रविन्द्र श्रेष्ठको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथि तथा मुख्य सचेतक डा. अनुप कृष्ण गुप्ताले मानसिक स्वास्थ्यको महत्व, यसको संवेदनशीलता तथा वर्तमान जीवनशैलीमा देखिँदै आएका चुनौतीहरूबारे गहिरो र प्रेरणादायी प्रस्तुति दिनुभयो।

उहाँले मानसिक स्वास्थ्य केवल रोगको अभाव मात्र नभई समग्र व्यक्तित्व विकासको आधारस्तम्भ भएको उल्लेख गर्दै तनाव व्यवस्थापन, सकारात्मक सोच, आत्म–नियन्त्रण र भावनात्मक सन्तुलनका पक्षहरूबारे विस्तृत जानकारी दिनुभयो। उहाँको अन्तरक्रियात्मक प्रस्तुतीले विद्यार्थीहरूलाई खुला रूपमा जिज्ञासा राख्न र समाधानमुखी सोच विकास गर्न प्रेरित गरेको थियो।

कार्यक्रममा वीरगञ्ज जेसीजका पूर्व अध्यक्ष तथा वर्ष २०२६ का अध्यक्ष सल्लाहकार जेसीआई सिनेटर गणेशमान श्रेष्ठ, जेसी मुकेश सिंह, पूर्व अध्यक्ष जेसीआई सिनेटर अशोक गुप्ता, निवर्तमान अध्यक्ष सिनेटर सरोज चौरसिया, कलेजकी प्रिन्सिपल ममता यादव लगायत जेसीज पदाधिकारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

उक्त अवसरमा कलेजकी प्रिन्सिपल ममता यादव, निवर्तमान अध्यक्ष सरोज चौरसिया तथा पूर्व अध्यक्ष मुकेश सिंहले शुभकामना मन्तव्य व्यक्त गर्दै यस्ता कार्यक्रमले विद्यार्थीहरूमा सकारात्मक ऊर्जा तथा जीवन उपयोगी ज्ञान अभिवृद्धि गर्ने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रमको संयोजन वीरगञ्ज जेसीज वर्ष २०२६ का उपाध्यक्ष जेसी रोहित गुप्ताले गर्नुभएको थियो भने सञ्चालन कलेजकी एक छात्राद्वारा गरिएको थियो।

यस कार्यक्रमले विद्यार्थीहरूमा मानसिक स्वास्थ्यप्रति सचेतना अभिवृद्धि गर्नुका साथै स्वस्थ, सन्तुलित र सकारात्मक जीवनशैलीतर्फ अग्रसर गराउने महत्वपूर्ण सन्देश प्रवाह गरेको छ।

Leave A Reply

Your email address will not be published.