रूपन्देहीमा सडक दुर्घटना : माइक्रो बस र ईभी ठोक्किँदा २ जनाको मृत्यु, २७ जना घाईते

70

एआईद्वारा निर्मित तस्बिर

रूपन्देही । जिल्लाको भलुही गणेशनगरस्थित प्रतीक्षालय नजिक बुधबार बिहान भएको सवारी दुर्घटनामा दुईजनाको मृत्यु भएको छ भने २७ जना घाइते भएका छन्।

बिहान करिब ९ बजेतिर बुटवलबाट बर्दघाटतर्फ जाँदै गरेको लु १ ख ७२८५ नम्बरको माइक्रो बस र नारायणगढबाट बुटवलतर्फ आउँदै गरेको वागमती प्रदेश ०० ख ८९२८ नम्बरको ईभी माइक्रो एकआपसमा ठोक्किँदा दुर्घटना भएको जिल्ला प्रहरीले जनाएको छ।

दुर्घटनापछि स्थानीयवासी र प्रहरीले तत्काल उद्धार कार्य सुरु गरेका थिए। घाइतेहरूलाई उपचारका लागि देवदह मेडिकल कलेजमा लगिएको थियो। उपचारकै क्रममा दुईजनाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ। मृतकहरूको पहिचान खुलाउने प्रयास भइरहेको बताइएको छ।

घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको अस्पताल स्रोतले जनाएको छ। दुर्घटनापछि उक्त क्षेत्रमा केही समय यातायात अवरुद्ध भएको थियो भने प्रहरीले सवारी साधन हटाएर सडक सञ्चालनमा ल्याएको जनाएको छ।

प्रहरीका अनुसार तीव्र गति, सडकको अवस्था वा चालकको लापरबाहीमध्ये कुन कारणले दुर्घटना भयो भन्ने विषयमा अनुसन्धान भइरहेको छ।

Leave A Reply

Your email address will not be published.