असन्तुष्ट शिक्षक समूहको प्रदर्शन उग्र बन्दै, क्याम्पस प्रमुखमाथि दुर्व्यवहार
वीरगञ्ज स्थित हरि खेतान बहुमुखी क्याम्पस मा क्याम्पस प्रमुख किशोरी रायमाथि कालोमोसो दल्ने प्रयास तथा दुर्व्यवहार भएको घटनाले शैक्षिक क्षेत्र तरंगित बनेको छ। विरोध प्रदर्शनका क्रममा असन्तुष्ट शिक्षक समूहले क्याम्पस प्रमुखमाथि हातपातसमेत गरेको क्याम्पस प्रशासनले जनाएको छ।
क्याम्पस प्रशासनका अनुसार करार सेवामा कार्यरत चार जना शिक्षकको सेवा अन्त्य गर्ने निर्णयपछि विवाद उत्पन्न भएको हो। क्याम्पसले २०८३ साल वैशाख २१ गतेदेखि लागू हुने गरी लालकिशोर प्रसाद पटेल, रबिन्द्र कुमार यादव, पूजा गुप्ता तथा दिलिप कुमार पण्डितको सेवा समाप्त गरिएको जनाएको छ।
सेवा अन्त्यको निर्णयप्रति असन्तुष्टि जनाउँदै सम्बन्धित पक्षले क्याम्पस परिसरमा ताला लगाएको बताइएको छ। क्याम्पस प्रमुख किशोरी रायले पटक–पटक वार्ता तथा ताला खोल्न आग्रह गरे पनि स्थिति सामान्य हुन नसकेको प्रशासनको भनाइ छ।
विवाद चर्किंदै जाँदा केही व्यक्तिले क्याम्पस प्रमुख रायमाथि कालोमोसो दल्ने प्रयास गर्नुका साथै दुर्व्यवहार र हातपात गरेको क्याम्पस सञ्चालक समितिले जनाएको छ। घटनापछि केही समय क्याम्पस क्षेत्र तनावग्रस्त बनेको थियो भने सुरक्षाकर्मी परिचालन गरी अवस्था नियन्त्रणमा लिइएको बताइएको छ।
घटनाप्रति क्याम्पस प्रशासनले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। शैक्षिक संस्थाभित्र असहमति राख्ने लोकतान्त्रिक विधि हुँदाहुँदै हिंसात्मक तथा अपमानजनक गतिविधि हुनु दुःखद भएको प्रशासनको भनाइ छ। यस्ता घटनाले विद्यार्थीमा नकारात्मक सन्देश जाने तथा शैक्षिक वातावरण प्रभावित हुने सरोकारवालाहरूले बताएका छन्।
क्याम्पस प्रशासनले घटनामा संलग्न व्यक्तिमाथि आवश्यक कानुनी कारबाही गर्न सम्बन्धित निकायसँग माग गरेको छ। घटनाबारे थप अनुसन्धान तथा छलफल भइरहेको जनाइएको छ