भारतीय महावाणिज्य दूतावासद्वारा हेटौंडामा योग दिवस विशेष कार्यक्रम आयोजना,३५० भन्दा बढी सहभागी

41

हेटौंडा, मकवानपुर आनन्द पटेल।

भारतको वीरगञ्जस्थित भारतीय महावाणिज्य दूतावासले “स्वस्थ बुढ्यौलीका लागि योग” (Yoga for Healthy Ageing) भन्ने मूल नारासहित १२औँ अन्तर्राष्ट्रिय योग दिवस (आईडीवाई–२०२६) को अवसरमा हेटौंडामा विशेष योग कार्यक्रम आयोजना गरेको छ।

दूतावासद्वारा अन्तर्राष्ट्रिय योग दिवस–२०२६ को तयारीस्वरूप सञ्चालन गरिएका कार्यक्रमहरूको श्रृंखलाअन्तर्गत यो तेस्रो कार्यक्रम हो। कार्यक्रममा ३५० भन्दा बढी योगप्रेमी तथा सहभागीहरूको उत्साहजनक उपस्थिति रहेको थियो। सहभागीहरूले योगले स्वास्थ्य, सद्भाव र समग्र कल्याणको सन्देश प्रवाह गर्ने महत्वपूर्ण माध्यम भएको उल्लेख गरेका थिए।

कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाकी मेयर मीना कुमारी लामा प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। मकवानपुर उद्योग वाणिज्य संघ, नेपाल–भारत मैत्री संघ, विभिन्न शैक्षिक संस्थाहरू, पतञ्जलि योग समिति लगायतका संस्थाका प्रतिनिधिहरूको समेत उपस्थिति रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै भारतीय महावाणिज्यदूत देवी सहाय मीणाले दैनिक जीवनमा योगलाई अपनाएर स्वास्थ्य, मानसिक सन्तुलन, सद्भाव र समग्र जीवनशैली सुधार गर्न सकिने बताउनुभयो। उहाँले योगलाई जीवनको अभिन्न अंग बनाउन सहभागीहरूलाई प्रेरित गर्नुभयो।

प्रमुख अतिथि मेयर लामाले नियमित योग अभ्यासले शारीरिक तथा मानसिक स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने उल्लेख गर्दै योग प्रवर्द्धनमा भारतीय महावाणिज्य दूतावासले खेलेको भूमिकाको प्रशंसा गर्नुभयो।

अन्तर्राष्ट्रिय योग दिवस–२०२६ लाई लक्षित गरी दूतावासले विभिन्न स्थानमा जनचेतनामूलक तथा योगसम्बन्धी कार्यक्रमहरू सञ्चालन गरिरहेको जनाएको छ।

Leave A Reply

Your email address will not be published.