वीरगञ्जमा सोलिस ट्र्याक्टरको नयाँ सोरुम सञ्चालनमा, १०१ एचपीसम्मका हार्भेस्टर उपलब्ध

57

वीरगञ्ज, असोज १

विश्वकर्मा पूजाको अवसर पारेर वीरगञ्जमा सोलिस ट्र्याक्टरको नयाँ सोरुम सञ्चालनमा ल्याइएको छ। वीरगञ्ज महानगरपालिका–१४ स्थित बहुवरी बाइपास रोडमा रहेको सोरुमको बिहीबार एक कार्यक्रमबीच उद्घाटन गरिएको हो।

सोलिस ट्र्याक्टरको आधिकारिक बिक्रेता मुक्तिनाथ कृषि कम्पनी लिमिटेड रहेको छ। सोरुमको उद्घाटन वीरगञ्ज महानगरपालिका–१४ का कार्यवाहक अध्यक्ष देवप्रसाद कुर्मीको प्रमुख आतिथ्यमा भएको थियो। कार्यक्रमको अध्यक्षता मुक्तिनाथ कृषि कम्पनी लिमिटेडका चिफ बिजनेस अफिसर उमेश आचार्यले गर्नुभएको थियो।

कार्यक्रममा कम्पनीका ट्र्याक्टर सेल्स हेड सन्तोष आचार्य, ललित खण्डेलवाललगायतको उपस्थिति थियो। सहभागीहरूले कृषि क्षेत्रमा आधुनिक प्रविधिको प्रयोग बढ्दै गएको अवस्थामा किसानलाई गुणस्तरीय तथा आधुनिक कृषि उपकरण सहज रूपमा उपलब्ध गराउन नयाँ सोरुमले महत्वपूर्ण भूमिका खेल्ने बताएका थिए।

बहुवरी बाइपास रोडमा रहेको सोरुमबाट सोलिस ब्रान्डका विभिन्न क्षमताका ट्र्याक्टर तथा हार्भेस्टर बिक्री–वितरण सुरु गरिएको मधेस प्रदेशका रिजनल म्यानेजर विशाल गौतमले जानकारी दिनुभयो। उहाँका अनुसार सोरुममा सोलिसका ४७, ५२, ५७, ६०, ६२ र ७० एचपी क्षमताका ट्र्याक्टर उपलब्ध छन्।

त्यस्तै, हार्भेस्टरतर्फ ८५ र १०१ मोडेलका मेसिनसमेत बिक्री–वितरणका लागि राखिएको गौतमले बताउनुभयो। किसानको आवश्यकता र खेतीको प्रकृतिअनुसार विभिन्न क्षमताका ट्र्याक्टर तथा कृषि उपकरण उपलब्ध गराइने उहाँले जानकारी दिनुभयो।

सोलिस ट्र्याक्टर खरिद गर्न चाहने ग्राहकका लागि वित्तीय सुविधासमेत उपलब्ध रहेको कम्पनीले जनाएको छ। गौतमका अनुसार १६ लाखदेखि २३ लाख रुपैयाँसम्म पर्ने ट्र्याक्टरहरू मुक्तिनाथ विकास बैंकमार्फत फाइनान्स सुविधामा खरिद गर्न सकिनेछ।

कृषिमा यान्त्रीकरण बढाउँदै किसानको श्रम, समय तथा लागत घटाउन आधुनिक कृषि उपकरणको प्रयोग महत्वपूर्ण रहेको भन्दै कम्पनीले वीरगञ्ज तथा आसपासका किसानलाई लक्षित गरी सेवा विस्तार गरेको जनाएको छ।

कार्यक्रमको सहजीकरण सुरज यादवले गर्नुभएको थियो।

Leave A Reply

Your email address will not be published.