थुनुवा र प्रहरी कर्मचारीलाई निःशुल्क स्वास्थ्य सेवा दिन पर्सा प्रहरी र वीरगञ्ज हेल्थ केयरबीच सम्झौता
वीरगञ्ज, असोज १
जिल्ला प्रहरी कार्यालय पर्सा र वीरगञ्ज हेल्थ केयर अस्पताल प्रा.लि.बीच न्यायिक हिरासतमा रहेका थुनुवा तथा प्रहरी कर्मचारीलाई स्वास्थ्य सेवा उपलब्ध गराउने सम्बन्धमा सम्झौता भएको छ।
सम्झौता अनुसार जिल्ला प्रहरी कार्यालय पर्सा, मातहतका प्रहरी कार्यालय तथा न्यायिक हिरासतमा रहेका थुनुवा र प्रहरी कर्मचारीको प्रत्येक शुक्रबार दिउँसो २ बजेदेखि ५ बजेसम्म निःशुल्क स्वास्थ्य परीक्षण गरिने छ। स्वास्थ्य परीक्षणका लागि वीरगञ्ज हेल्थ केयर अस्पतालका चिकित्सक तथा आवश्यक स्वास्थ्यकर्मीको व्यवस्था गरिने छ।

सम्झौतामा जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक पवन कुमार भट्टराई, प्रहरी नायब उपरीक्षक चक्र बहादुर मल्ल तथा वीरगञ्ज हेल्थ केयर अस्पतालका अध्यक्ष डा. अब्दुल हैस अन्सारी र प्रमुख प्रशासनिक अधिकृत भूमिका अधिकारीले हस्ताक्षर गरेका छन्।
सम्झौता अनुसार स्वास्थ्य परीक्षणका क्रममा थप उपचार आवश्यक देखिएका थुनुवा तथा प्रहरी कर्मचारीलाई नेपाल सरकारको स्वास्थ्य बीमा बोर्डले निर्धारण गरेको दररेट अनुसार उपचार सेवा उपलब्ध गराइने छ।
यस्तै, अस्पतालमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत सञ्चालन हुने आमा सुरक्षा, खोप तथा डायलाइसिस कार्यक्रमबाट नियम अनुसार प्राप्त हुने सेवा तथा सुविधा निःशुल्क उपलब्ध गराइने व्यवस्था गरिएको छ।

क्यान्सर, कार्डियक तथा स्पाइनल इन्जुरी लगायतका रोगको उपचारका लागि विपन्न नागरिक उपचार कार्यक्रम अन्तर्गत नियमानुसार एक लाख रुपैयाँसम्मको उपचार सहुलियत उपलब्ध गराउने व्यवस्था पनि सम्झौतामा समेटिएको छ।
न्यायिक हिरासतमा रहेका थुनुवालाई आकस्मिक स्वास्थ्य परीक्षण वा उपचार आवश्यक परेको अवस्थामा जिल्ला प्रहरी कार्यालय पर्सा र वीरगञ्ज हेल्थ केयरबीच समन्वय गरी चिकित्सक उपलब्ध गराइने छ। आकस्मिक स्वास्थ्य परीक्षण समेत निःशुल्क गर्ने व्यवस्था गरिएको छ।
सम्झौता २०८२ साल भदौ ३१ गतेदेखि लागू हुने र दुई वर्षसम्म कायम रहने उल्लेख छ। दुवै पक्षको सहमतिमा सम्झौता नवीकरण गर्न सकिने छ।
सम्झौताका मुख्य बुँदा :
१.प्रत्येक शुक्रबार दिउँसो २ देखि ५ बजेसम्म निःशुल्क स्वास्थ्य परीक्षण
२.न्यायिक हिरासतका थुनुवा तथा प्रहरी कर्मचारीलाई स्वास्थ्य सेवा
३.थप उपचार आवश्यक परे स्वास्थ्य बीमा बोर्डको दररेट अनुसार उपचार
४.आमा सुरक्षा, खोप तथा डायलाइसिस कार्यक्रम अन्तर्गत नियम अनुसार निःशुल्क सेवा
५.क्यान्सर, कार्डियक तथा स्पाइनल इन्जुरी उपचारमा एक लाख रुपैयाँसम्म सहुलियत
६.आकस्मिक स्वास्थ्य परीक्षण तथा उपचारमा समन्वय र निःशुल्क परीक्षण
७. सम्झौताको अवधि दुई वर्ष