ड्राइपोर्टका लागि अधिग्रहण गरिएको जग्गाको मुआब्जा माग्दै श्रीसियावासीद्वारा ज्ञापनपत्र

3

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–२५ श्रीसियाका स्थानीयवासीले ड्राइपोर्ट निर्माणका क्रममा अधिग्रहण गरिएको जग्गा तथा भौतिक संरचनाको बाँकी मुआब्जा र क्षतिपूर्ति तत्काल उपलब्ध गराउन माग गरेका छन्।

मुआब्जा संघर्ष समिति वीरगञ्ज–२५ श्रीसियाका अध्यक्ष अशोककुमार चौधरीको हस्ताक्षरमा स्थानीयवासीले वीरगञ्ज भन्सारका प्रमुख भन्सार प्रशासक कृष्ण मैनालीलाई ज्ञापनपत्र बुझाउँदै लामो समयदेखि रोकिएको मुआब्जा प्रक्रिया टुंग्याउन माग गरेका हुन्।

ज्ञापनपत्रमा करिब दुई दशकअघि ड्राइपोर्ट निर्माणका लागि अधिग्रहण गरिएको जग्गाको मुआब्जा प्रक्रिया अझै पूर्ण रूपमा टुंगिन नसकेको उल्लेख गरिएको छ। समितिका अनुसार २०६१ सालदेखि जग्गा अधिग्रहण प्रक्रिया अघि बढे पनि कतिपय जग्गाधनीले हालसम्म पूर्ण मुआब्जा पाउन सकेका छैनन्।

नापजाँचका क्रममा नक्सा तथा फिल्डबुकमा देखिएको त्रुटिका कारण जग्गाधनीको नाममा मुआब्जा निर्धारण तथा वितरणमा समस्या उत्पन्न भएको समितिको दाबी छ। लामो समयदेखि मुआब्जा नपाउँदा प्रभावित परिवारले आफ्नो जग्गामा घर निर्माण गर्न नसकेको तथा आर्थिक र सामाजिक समस्या झेल्दै आएको ज्ञापनपत्रमा उल्लेख छ।

सम्बन्धित निकायमा पटक–पटक पहल गर्दा पनि समस्या समाधान नभएको भन्दै स्थानीयवासीले आफ्नो स्वामित्वमा रहेको जग्गाको बाँकी मुआब्जा तत्काल भुक्तानी गर्न माग गरेका छन्। साथै, अधिग्रहण गरिएको जग्गामा रहेका घर, टहरा लगायतका भौतिक संरचनाको समेत यथोचित क्षतिपूर्ति निर्धारण गरी वितरण गर्न उनीहरूले माग गरेका छन्।

लामो समयसम्म माग सम्बोधन नभए थप आन्दोलनका कार्यक्रम अघि बढाउने चेतावनी संघर्ष समितिले दिएको छ।

ज्ञापनपत्रको बोधार्थ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, अर्थ मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलगायत सम्बन्धित निकायमा पठाइएको समितिले जनाएको छ।

ज्ञापनपत्र बुझाउने क्रममा वीरगञ्ज महानगरपालिका–२५ का वडा अध्यक्ष आशुतोष चतुर्वेदी, नेपाली कांग्रेसका बुथ सभापति भैयाराम पटेल, वडा सदस्य तेतरी देवी, पूर्व वडा सदस्य वैजन्तीमालालगायत स्थानीयवासीको उपस्थिति थियो।

Leave A Reply

Your email address will not be published.