हरि खेतान क्याम्पसमा टीआरएस प्रशिक्षण सम्पन्न, विद्यार्थी सम्मानित
वीरगञ्ज, असार ११ । वीरगञ्ज स्थित हरी खेतान बहुमुखी क्याम्पसमा वीरगञ्ज भन्सार कार्यालयको सहयोगमा सञ्चालन गरिएको टाइम रिलिज स्टडी (टीआरएस) सम्बन्धी ८ दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। समापन समारोहका अवसरमा कार्यक्रममा सहभागी २० जना विद्यार्थीलाई प्रमाणपत्र प्रदान गर्नुका साथै जनही ७ हजार ५ सय रुपैयाँका दरले नगद प्रोत्साहन रकम वितरण गरिएको छ।
प्रशिक्षण अवधिभर विद्यार्थीहरूले भन्सार प्रक्रियाको अध्ययन, वस्तु निकासी–पैठारीमा लाग्ने समयको विश्लेषण, तथ्यांक संकलन तथा व्यवहारिक अध्ययनका विविध पक्षबारे ज्ञान हासिल गरेका थिए। सहभागीहरूले कार्यक्रमलाई अत्यन्तै ज्ञानवर्द्धक, व्यवहारिक तथा उपयोगी अनुभवका रूपमा लिएको बताएका छन्। उनीहरूका अनुसार यस्ता कार्यक्रमले कक्षाकोठामा सिकेको सैद्धान्तिक ज्ञानलाई व्यवहारमा रूपान्तरण गर्ने अवसर प्रदान गर्दछ।

समापन कार्यक्रममा वीरगञ्ज भन्सार कार्यालयका प्रमुख काजीबाबु कोइराला प्रमुख अतिथिका रूपमा उपस्थित थिए। त्यसैगरी भन्सार कार्यालयका लेखनाथ भट्टराई तथा जिल्ला प्रहरी कार्यालय पर्साका डीएसपी राजु कार्की विशिष्ट अतिथिका रूपमा सहभागी भएका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै कलेज व्यवस्थापन समितिका सल्लाहकार जयप्रकाश खेतानले यस्ता शैक्षिक तथा व्यवहारिक अध्ययनमूलक कार्यक्रमले विद्यार्थीहरूको मनोबल वृद्धि गर्नुका साथै शैक्षिक र व्यावसायिक विकासमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे। शिक्षालाई व्यवहारिक अनुभवसँग जोड्न सके मात्र विद्यार्थीहरू सक्षम, दक्ष र प्रतिस्पर्धी जनशक्ति बन्न सक्ने उनको भनाइ थियो।
वक्ताहरूले विद्यार्थीहरूलाई अध्ययनसँगै व्यवहारिक ज्ञान, अनुसन्धान क्षमता र व्यावसायिक सीप विकासमा ध्यान दिन आग्रह गर्दै यस्ता कार्यक्रमलाई आगामी दिनमा समेत निरन्तरता दिनुपर्ने आवश्यकता औँल्याएका थिए।
क्याम्पस प्रशासनका अनुसार अध्ययन तथा अनुसन्धानमा आधारित यस्ता कार्यक्रमले विद्यार्थीहरूलाई भविष्यको पेशागत जीवनका लागि थप सक्षम, दक्ष र आत्मविश्वासी बनाउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।