कपी हेड: शैक्षिक सहिद मुकुन्द प्रसाद खनाल स्मृति प्रतिष्ठानद्वारा वृक्षारोपण कार्यक्रम सम्पन्न

24

वीरगञ्ज, असार २७ — “वृक्षारोपण गरौं–वातावरण संरक्षण गरौं, हाम्रो वीरगञ्ज–हरियाली वीरगञ्ज” भन्ने मूल नाराका साथ शैक्षिक सहिद मुकुन्द प्रसाद खनाल स्मृति प्रतिष्ठान, वीरगञ्जले शनिबार वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ।

वीरगञ्ज महानगरपालिका–१६ स्थित नगवा माईदिया पोखरी परिसरमा रहेको बाबा गनिनाथ गोबिन्द जी मन्दिरको प्राङ्गणमा आयोजित कार्यक्रममा विभिन्न प्रजातिका बिरुवा रोपेर वातावरण संरक्षण तथा हरियाली प्रवर्द्धन गर्ने सन्देश दिइएको थियो।

प्रतिष्ठानकी अध्यक्ष मुना खनालको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथिका रूपमा नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाका सभापति बृजकिशोर पटेल सहभागी थिए। उनले वातावरण संरक्षण आजको प्रमुख आवश्यकता भएको उल्लेख गर्दै वृक्षारोपणलाई औपचारिकतामा सीमित नराखी बिरुवाको संरक्षण र नियमित हेरचाहमा सबैले ध्यान दिनुपर्ने बताए।

कार्यक्रममा प्रतिष्ठानका वरिष्ठ सल्लाहकार प्रकाशकुमार उपाध्याय, नेपाल प्रौढ संघका अध्यक्ष नन्दलाल अहिर, प्राध्यापक हरेराम ठाकुर, सन्तोषानन्द महाराज, सञ्चारकर्मी राकेश साह, सन्तोष कुशवाहा, राजन सिंह, क्रियाशील पत्रकार मञ्च नेपालका अध्यक्ष आनन्द पटेल लगायत प्रतिष्ठानका पदाधिकारी, सदस्य तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको सहभागिता रहेको थियो।

प्रतिष्ठानका उपाध्यक्ष युवराज खड्का, कोषाध्यक्ष वीणा आचार्य, सहसचिव अजित भुजेल तथा सदस्यहरू अभिलाष गुप्ता, सुमित गुप्ता, सुभाष सिंह र नवराज भट्टराईले पनि वृक्षारोपणमा सक्रिय सहभागिता जनाएका थिए।

प्रतिष्ठानका सचिव लालबाबु सिंहले सञ्चालन गरेको कार्यक्रमको संयोजन श्रवण रायमाझीले गरेका थिए।

कार्यक्रममा सहभागीहरूले वातावरणीय सन्तुलन कायम गर्न, जलवायु परिवर्तनका असर न्यूनीकरण गर्न तथा भावी पुस्ताका लागि स्वच्छ र हराभरा वातावरण निर्माण गर्न वृक्षारोपण अभियानलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए। साथै प्रतिष्ठानले आगामी दिनमा पनि शिक्षा, सामाजिक उत्तरदायित्व र वातावरण संरक्षणसम्बन्धी जनहितका कार्यक्रम सञ्चालन गर्दै जाने प्रतिबद्धता जनाएको छ।

Leave A Reply

Your email address will not be published.