आजदेखि बजारमा फेरि १४.२ किलो ग्यास, मूल्य यथावत् २,०६० रुपैयाँ

46

काठमाडौं । नेपाल आयल निगमले बुधबारदेखि पुनः साविककै १४ दशमलव २ किलोग्राम एलपी ग्यास भरिएको सिलिण्डर बजारमा पठाउन सबै ग्यास उद्योगलाई निर्देशन दिएको छ।

निगमका प्रवक्ता मनोज ठाकुरका अनुसार भारतको इण्डियन आयल कर्पोरेसन (आईओसी) अन्तर्गतका विभिन्न बोटलिङ प्लान्ट तथा रिफाइनरीबाट एलपी ग्यासको लोडिङ अवस्थामा सुधार आएपछि पूर्ण क्षमताको ग्यास सिलिण्डर पुनः वितरण गर्ने निर्णय गरिएको हो।

यस निर्णयसँगै उपभोक्ताले अब पुनः १४.२ किलोग्राम ग्यास भएको सिलिण्डर प्राप्त गर्नेछन्। निगमले यस ग्यासको खुद्रा बिक्री मूल्य प्रतिसिलिण्डर दुई हजार ६० रुपैयाँ कायम रहेको जनाएको छ।

यस अघि ग्यास आपूर्तिमा आएको अवरोध र वितरण प्रणालीलाई सहज बनाउन निगमले गत फागुन २९ गतेदेखि अर्को निर्णय नभएसम्म ७ दशमलव १ किलोग्राम (आधा तौल) ग्यास भरिएका सिलिण्डर बिक्री–वितरण गर्न निर्देशन दिएको थियो। उक्त व्यवस्था अस्थायी रूपमा लागू गरिएको थियो ताकि सीमित ग्यास धेरै उपभोक्तासम्म पुग्न सकोस्।

निगमले अहिले ग्यास आपूर्ति अवस्था क्रमशः सामान्य बन्दै गएको र बजारमा नियमित वितरण सुनिश्चित गर्न पूर्ण तौलका सिलिण्डर पुनः सञ्चालनमा ल्याइएको जनाएको छ। साथै, उपभोक्तालाई आधिकारिक मूल्यमै ग्यास खरिद गर्न र कृत्रिम अभाव वा बढी मूल्य असुलेको पाइएमा सम्बन्धित निकायमा जानकारी गराउन पनि आग्रह गरिएको छ।

Leave A Reply

Your email address will not be published.