वीरगञ्जमा सशस्त्र प्रहरीको छापा : चार लाख भन्दा बढीका अवैध सामान र ६२० केजी स्याउ बरामद
वीरगञ्ज । सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण मुख्यालय पर्साले विशेष सूचनाका आधारमा वीरगञ्जमा छापामारी गरी भन्सार छली गरेर ल्याइएका लाखौँ रुपैयाँ बराबरका अवैध सामान बरामद गरेको छ।
सशस्त्र प्रहरीले जनाएको अनुसार बुधबार बिहान १०:१५ बजे वीरगञ्ज महानगरपालिका–१६ फुलबारी टोल स्थित उषा अधिकारीको तीनतले पक्की घरमा भारतबाट भन्सार छली गरी ल्याइएका सामान लुकाएर राखिएको भन्ने विशेष सूचनाका आधारमा छापा मारिएको हो।
सीमा सुरक्षा गुल्म मुख्यालय वीरगञ्जबाट सशस्त्र प्रहरी नायब उपरीक्षक विकास अधिकारीको नेतृत्वमा खटिएको टोलीले वीरगञ्ज भन्सार कार्यालयका प्रतिनिधिसँग संयुक्त रूपमा घरका ११ वटा कोठामा खानतलासी गर्दा २,८४८ मिटर टेबल पोस (टेन्ट टेबलमा प्रयोग हुने कटन कपडा), १३ थान रेडिमेड टेबल पोस तथा ३५ प्याकेट एयर कन्डिसनर स्ट्यान्ड बरामद गरेको हो।
बरामद सामानको अनुमानित मूल्य ३ लाख ५० हजार रुपैयाँ रहेको सशस्त्र प्रहरीले जनाएको छ। बरामद सामान आवश्यक कानुनी कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाउने प्रक्रिया अघि बढाइएको छ।
यसैबीच, सोमबार राति ९ बजे वीरगञ्ज महानगरपालिका–१६ भन्सार टोल क्षेत्रमा गस्तीमा रहेको सशस्त्र प्रहरीको मोबाइल टोलीले अवैध रूपमा भारततर्फ लैजाने तयारी गरिएको ३३ कार्टुन (६२० केजी) स्याउ पनि बरामद गरेको छ।
बरामद स्याउको अनुमानित मूल्य ६३ हजार ५०० रुपैयाँ रहेको प्रहरीले जनाएको छ। उक्त स्याउ पनि आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी बल नं. १३ गण मुख्यालय पर्साका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक मोहनराज निरौलाले जानकारी दिए।