प्रहरी मार्फत सञ्चारमाध्यमलाई दबाब दिने प्रयासप्रति पत्रकार महासंघ पर्साको कडा आपत्ति
वीरगञ्ज, ६ साउन — सञ्चार माध्यममा प्रसारित समाचारको विषयलाई लिएर जिल्ला प्रहरी कार्यालय पर्साले सञ्चारमाध्यमलाई पत्र काटेको घटनाप्रति नेपाल पत्रकार महासंघ, पर्सा शाखाले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
वीरगञ्जबाट प्रसारण हुने My TV मा वीरगञ्ज महानगरपालिका–३१ को सिफारिसका आधारमा एक महिलाको नागरिकताबाट पतिको नाम हटाइएको विषयसम्बन्धी समाचार प्रसारण भएपछि वडा अध्यक्षले जिल्ला प्रशासन कार्यालय पर्सामा उजुरी दिएका थिए। सोही उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय पर्साले तथ्य पेश गर्न भन्दै सञ्चारमाध्यमलाई पत्र काटेकोप्रति महासंघले आपत्ति जनाएको हो।
नेपाल पत्रकार महासंघ पर्साका सचिव विजयकुमार महतोद्वारा जारी विज्ञप्तिमा कुनै पनि सञ्चारमाध्यममा प्रकाशित वा प्रसारित समाचारप्रति सम्बन्धित पक्षको असहमति वा गुनासो भए सर्वप्रथम सम्बन्धित सञ्चारमाध्यममै खण्डन, स्पष्टीकरण वा प्रतिक्रिया पठाउने तथा त्यसबाट पनि चित्त नबुझे नियमनकारी निकाय प्रेस काउन्सिल नेपालमा उजुरी दिई कानुनी उपचार खोज्ने स्पष्ट व्यवस्था रहेको उल्लेख गरिएको छ।
महासंघले कानुनले तोकेको प्रक्रिया र नियमनकारी निकायलाई बेवास्ता गर्दै स्थानीय प्रशासनमार्फत प्रहरीलाई परिचालन गरी सञ्चारमाध्यमलाई पत्र काट्नु विधिसम्मत अभ्यास नभएको जनाएको छ। यसबाट कानुनी उपचारको स्थापित प्रक्रियालाई ओझेलमा पार्नुका साथै सञ्चारमाध्यममाथि अनावश्यक दबाब सिर्जना गर्ने र स्वतन्त्र पत्रकारितालाई निरुत्साहित गर्ने नियत देखिएको विज्ञप्तिमा उल्लेख छ।
महासंघले संविधानद्वारा प्रत्याभूत पूर्ण प्रेस स्वतन्त्रता तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्न सम्बन्धित सबै पक्षसँग आग्रह गरेको छ। साथै सञ्चारमाध्यम वा सञ्चारकर्मीमाथि मानसिक दबाब सिर्जना गर्ने तथा प्रेस स्वतन्त्रता कुण्ठित गर्ने यस्ता गतिविधि निरन्तर दोहोरिए स्वतन्त्र प्रेस र पत्रकारको पेशागत अधिकार रक्षाका लागि आन्दोलनमा उत्रिन बाध्य हुने चेतावनीसमेत दिएको छ।