वीरगञ्जमा ‘एक घर, एक बिरुवा’ अभियान, हरि खेतान कलेजमा ४ सय भन्दा बढी बिरुवा वितरण

10

वीरगञ्ज, ६ साउन — ग्रिन सिटी सामुदायिक सेवा केन्द्र आदर्शनगर र सामुदायिक प्रहरी सेवाको संयुक्त आयोजनामा सामुदायिक प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत “एक घर, एक बिरुवा” अभियान सञ्चालन गर्दै हरि खेतान बहुमुखी कलेजमा ४ सयभन्दा बढी विभिन्न प्रजातिका बिरुवा वितरण तथा वृक्षारोपण गरिएको छ।

वातावरण संरक्षण, हरियाली प्रवर्द्धन तथा जलवायु परिवर्तनका चुनौती न्यूनीकरण गर्ने उद्देश्यले आयोजित कार्यक्रममा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा कलेज परिसरमा वृक्षारोपण गर्नुका साथै प्रत्येक घरमा कम्तीमा एक बिरुवा रोपी त्यसको संरक्षण गर्न विद्यार्थीहरूलाई आग्रह गरिएको थियो।

ग्रिन सिटी सामुदायिक सेवा केन्द्रका अध्यक्ष जयप्रकाश खेतानको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथिका रूपमा वीरगञ्जस्थित भारतीय महावाणिज्य दूतावासका महावाणिज्यदूत देविसहाय मीणा सहभागी हुनुभएको थियो। कार्यक्रममा उद्योग वाणिज्य संघ वीरगञ्जका अध्यक्ष हरि गौतम, हरि खेतान बहुमुखी कलेजका अध्यक्ष रामवतार खेतान, समाजसेवी सुरेश रुङटा, जिल्ला प्रहरी कार्यालय पर्साका डीएसपी चक्र मल्ल, वडा प्रहरी कार्यालय बिर्ताका प्रमुख प्रहरी निरीक्षक विक्रम सुवेदी, युवा समाजसेवी दिलीप कार्कीलगायत विभिन्न क्षेत्रका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष जयप्रकाश खेतानले वातावरण संरक्षण आजको प्रमुख आवश्यकता भएको उल्लेख गर्दै ‘एक घर, एक बिरुवा’ अभियानलाई जनस्तरसम्म विस्तार गरी प्रत्येक नागरिकलाई वृक्षारोपण र बिरुवा संरक्षणमा सहभागी गराउने उद्देश्य रहेको बताउनुभयो। उहाँले बिरुवा रोप्नुका साथै त्यसको संरक्षण गर्नु पनि उत्तिकै महत्वपूर्ण जिम्मेवारी भएकोमा जोड दिनुभयो।

प्रमुख अतिथि महावाणिज्यदूत देविसहाय मीणाले यस्ता वातावरणमैत्री अभियानले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने बताउँदै युवा पुस्तालाई प्रकृति संरक्षणमा सक्रिय भूमिका निर्वाह गर्न आग्रह गर्नुभयो।

अन्य वक्ताहरूले पनि हरित शहर निर्माण, वातावरण संरक्षण तथा सामुदायिक प्रहरी–नागरिक सहकार्यलाई थप प्रभावकारी बनाउँदै यस्ता अभियानलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए।

कार्यक्रमको अन्त्यमा विद्यार्थीहरूलाई ४ सयभन्दा बढी विभिन्न प्रजातिका बिरुवा वितरण गर्नुका साथै कलेज परिसरमा सामूहिक वृक्षारोपण गरिएको आयोजकले जनाएको छ।

Leave A Reply

Your email address will not be published.