वीरगञ्जमा गुरु हरकृष्ण साहिब जीको प्रकाश पर्व तीनदिने धार्मिक एवं सांस्कृतिक कार्यक्रम सहित भव्य रूपमा सम्पन्न

9

वीरगञ्ज, साउन २२ आनन्द पटेल।

गुरुद्वारा गुरु नानक सत्संग, वीरगञ्जले सिख धर्मका आठौँ गुरु श्री गुरु हरकृष्ण साहिब जीको शुभ प्रकाश पर्व (जन्म उत्सव) विभिन्न धार्मिक तथा सांस्कृतिक कार्यक्रमका साथ भव्य रूपमा सम्पन्न गरेको छ।

तीन दिनसम्म सञ्चालन भएको कार्यक्रममा सत्संग, कीर्तन, धार्मिक प्रवचन, सांस्कृतिक प्रस्तुति तथा प्रसाद वितरण लगायतका कार्यक्रम आयोजना गरिएको थियो। शुक्रबार अन्तिम दिन विभिन्न समुदायका अगुवा, समाजसेवी, प्रहरी प्रशासनका प्रतिनिधि, शिक्षाविद्, सञ्चारकर्मी तथा अन्य विशिष्ट व्यक्तित्वहरूको उपस्थितिमा विशेष सत्संग तथा प्रसाद वितरण कार्यक्रम सम्पन्न गरिएको थियो।

गुरुद्वाराका जगप्रीत सिंगलले श्री गुरु हरकृष्ण साहिब जीको प्रकाश पर्व श्रद्धापूर्वक तीन दिनसम्म मनाइएको जानकारी दिए। उनले गुरु हरकृष्ण साहिब जीले मानव सेवा, करुणा, समानता र निःस्वार्थ सेवाको सन्देश दिएको उल्लेख गर्दै सोही आदर्शलाई आत्मसात् गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए।

उनले वीरगञ्जको यातायात व्यवस्था कार्यालय नजिक रहेको गुरुद्वारा २४सै घण्टा सबैका लागि खुला रहने जानकारी दिँदै यहाँ आउने जो–कोहीलाई निःशुल्क बास, भोजन तथा पिउने पानीको व्यवस्था गरिएको बताए।

सिंगलले गुरुद्वारामा जात, धर्म, भाषा वा समुदायका आधारमा कुनै पनि प्रकारको विभेद नरहेको स्पष्ट पार्दै सबै धर्मका व्यक्तिलाई दर्शन, प्रार्थना तथा सेवा कार्यमा सहभागी हुन स्वागत रहेको बताए। उनले श्री गुरु हरकृष्ण साहिब जीले मानव सेवालाई नै सर्वोच्च धर्मका रूपमा स्थापित गरेको स्मरण गराउँदै मानवताको मार्गमा अघि बढे समाजमा सुख, शान्ति, सद्भाव र भाइचाराको भावना अझ सुदृढ हुने विश्वास व्यक्त गरे।

कार्यक्रममा सहभागी अतिथिहरूले गुरुद्वारामा दर्शन गरी प्रसाद ग्रहण गरेका थिए। आयोजकले यस्ता धार्मिक तथा सामाजिक कार्यक्रमले आपसी सद्भाव, धार्मिक सहिष्णुता तथा सामाजिक एकतालाई थप मजबुत बनाउने विश्वास व्यक्त गरेको छ।

Leave A Reply

Your email address will not be published.