३७ बुँदे माग सहित सनातन हिन्दू मोर्चाद्वारा प्रधानमन्त्रीलाई ज्ञापनपत्र
वीरगञ्ज, २७ साउन । सनातन हिन्दू मोर्चाले नेपालको धार्मिक, सांस्कृतिक, सामाजिक तथा राष्ट्रिय हितसँग सम्बन्धित ३७ बुँदे माग सहित बुधबार प्रधानमन्त्री समक्ष ज्ञापनपत्र बुझाएको छ।
मोर्चाले देशका दुई दर्जन भन्दा बढी जिल्लाका जिल्ला प्रशासन कार्यालय मार्फत प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउँदै प्रधानमन्त्री समक्ष पुर्याएको जनाएको छ। पर्सा, बारा, कैलाली, महोत्तरी, रौतहट लगायत जिल्लामा एकैसाथ ज्ञापनपत्र बुझाइएको हो।
ज्ञापनपत्रमा नेपालको मौलिक धार्मिक तथा सांस्कृतिक पहिचानको संरक्षण, सनातन हिन्दू राष्ट्र नेपाल कायम गर्न आवश्यक संवैधानिक तथा कानुनी पहल, धार्मिक तथा ऐतिहासिक तीर्थ स्थलको सुरक्षा तथा धार्मिक आस्थामाथि हुने अपमान जनक गतिविधिमाथि कानुनी कारबाही गर्नुपर्ने माग गरिएको छ।
त्यस्तै धर्म परिवर्तन नियन्त्रण, गौहत्या तथा गाई–गोरुको अवैध ओसार पसार नियन्त्रण, गुरुकुल शिक्षा तथा गौसेवा केन्द्रको विस्तार, राष्ट्रिय एकता र सामाजिक सद्भाव प्रवर्द्धन तथा युवालाई लागूपदार्थबाट जोगाउने अभियान सञ्चालन गर्नुपर्ने माग मोर्चाले अघि सारेको छ।
मोर्चाले भ्रष्टाचार नियन्त्रण, धार्मिक गुरु तथा साधुसन्तको सुरक्षा, धार्मिक पर्यटन प्रवर्द्धन तथा बन्द उद्योग सञ्चालन गरी युवालाई स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्नुपर्ने माग समेत गरेको छ।
कमजोर आर्थिक अवस्था भएका नेपाली नागरिकका लागि राज्यस्तरबाट उपचारको व्यवस्था, धार्मिक तथा सांस्कृतिक सम्पत्तिको संरक्षण, मठ–मन्दिरका अतिक्रमित जग्गा फिर्ता गर्ने व्यवस्था तथा विद्यालय र कलेज तहमा संस्कृत पाठ्यक्रम पुनः सञ्चालन गर्नुपर्ने माग पनि ज्ञापन पत्रमा समेटिएको छ।
हिमाल, पहाड, तराई तथा मधेसका नागरिकबीच राष्ट्रिय एकता कायम गर्न सामूहिक पूजापाठ तथा हवनजस्ता कार्यक्रम सञ्चालन गर्नुपर्ने तथा अन्तरधार्मिक वैवाहिक कार्यक्रम पूर्ण रूपमा बन्द गर्ने निर्णय लागू गर्नुपर्ने मागसमेत मोर्चाले राखेको छ। विदेशी गैरसरकारी संस्था ९आईएनजीओ० सम्बन्धमा कडा नीति अवलम्बन गर्नुपर्ने माग पनि ज्ञापनपत्रमा उल्लेख छ।
सनातन हिन्दू मोर्चाका केन्द्रीय संयोजक सन्तोषानन्द महाराजले विभिन्न जिल्लाबाट एकैसाथ जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्री समक्ष ज्ञापनपत्र बुझाउने कार्यक्रम सम्पन्न भएको जानकारी दिए। उनका अनुसार ३७ बुँदे माग नेपालको धार्मिक तथा सांस्कृतिक पहिचान, राष्ट्रिय एकता, सामाजिक सद्भाव, नागरिक सुरक्षा, सुशासन, वातावरण संरक्षण तथा आर्थिक समृद्धिसँग सम्बन्धित छन्।
पर्सामा मोर्चाका जिल्ला अध्यक्ष हनुमान दासको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय पुगेको टोलीले प्रमुख जिल्ला अधिकारी भोला दाहाललाई ज्ञापनपत्र बुझाएको थियो। टोलीमा केन्द्रीय संयोजक सन्तोषानन्द महाराज, केन्द्रीय कोषाध्यक्ष अधिवक्ता विनोद प्रसाद कुर्मी, केन्द्रीय सदस्य जोगिन्द्र प्रसाद कलवार, डा. ऋषि आचार्य, उषा श्रीवास्तव, पर्सा जिल्ला उपाध्यक्ष अंशु कुमार प्रजापति, महा मन्त्री प्रमोद शर्मा तथा वीरगञ्ज महानगरपालिका समितिका मन्त्री दीपक साह लगायत सहभागी थिए।
त्यस्तै, बारा जिल्ला अध्यक्ष गोपाल दासको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय पुगेको टोलीले प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रलाई ज्ञापनपत्र बुझाएको थियो। टोलीमा केन्द्रीय संयोजक सन्तोषानन्द महाराज, केन्द्रीय सदस्य पियुस गुप्ता, बारा जिल्ला उपाध्यक्ष परदेशी साह तथा पर्सा जिल्ला अध्यक्ष हनुमान दास सहभागी थिए।
मोर्चाका केन्द्रीय तथा जिल्ला तहका अगुवाको नेतृत्वमा अन्य जिल्लामा समेत ज्ञापनपत्र बुझाउने कार्य गरिएको मोर्चाले जनाएको छ। ज्ञापनपत्रमा उल्लेखित मागलाई सरकारले गम्भीरता पूर्वक अध्ययन गरी आवश्यक कानुनी तथा नीतिगत प्रक्रिया अघि बढाउनुपर्ने मोर्चाको माग छ।