डीएसपी निलम्बनको माग गर्दै दोस्रो दिन पनि सडक अवरुद्ध, सयौँ सवारी साधन अलपत्र

23

वीरगञ्ज, ५ भदौ । तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनाको विरोधमा स्थानीयवासीले थालेको आन्दोलन दोस्रो दिन पनि जारी राखेका छन्। आन्दोलनकारीले इलाका प्रहरी कार्यालय सिमराका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) दिलिप क्षेत्रीलाई निलम्बन गर्नुपर्ने माग गर्दै वीरगञ्ज–पथलैया सडकखण्ड अवरुद्ध गरेका छन्।

सडक अवरोधका कारण वीरगञ्ज–पथलैया औद्योगिक करिडोरको यातायात सेवा प्रभावित भएको छ। मुख्य सडकमा सवारी आवागमन ठप्प भएपछि सयौँ सवारीसाधन तथा यात्रु बाटोमै अलपत्र परेका छन्। सडकमा सवारीसाधनको लामो लाइन लाग्दा औद्योगिक तथा व्यापारिक गतिविधिसमेत प्रभावित भएको छ।

जीतपुरसिमरा उपमहानगरपालिका–१, दसधुरेकी तीन वर्षीया गरिमा साउन ३१ गतेदेखि बेपत्ता भएकी थिइन्। परिवारले तत्काल प्रहरीलाई जानकारी गराउनुका साथै शङ्कास्पद व्यक्तिविरुद्ध किटानी जाहेरीसमेत दिएको थियो। तर प्रहरीले बालिकाको खोजीमा गम्भीरता नदेखाएको पीडित परिवार तथा स्थानीयवासीको आरोप छ।

मङ्गलबार साँझ घरनजिकै रहेको सुनसान भवनबाट दुर्गन्ध आएपछि स्थानीयवासीले खोजी गर्दा बालिकाको अर्धनग्न शव फेला पारेका थिए। शव भेटिएपछि मात्रै प्रहरीले सक्रियता देखाएको र जाहेरीमा नाम उल्लेख भएका दुई जनालाई नियन्त्रणमा लिएको स्थानीयको भनाइ छ।

प्रहरीको ढिलासुस्ती र लापरबाहीकै कारण बालिकाको ज्यान गएको आरोप लगाउँदै स्थानीयवासी आक्रोशित बनेका हुन्। उनीहरूले घटनामा प्रहरी नेतृत्वसमेत जिम्मेवार रहेको भन्दै डीएसपी क्षेत्रीलाई तत्काल निलम्बन गरी छानबिन गर्न माग गरेका छन्।

सडक अवरोध खुलाउने विषयमा जिल्ला प्रशासन कार्यालय र आन्दोलनरत पक्षबीच बुधबार रातिसम्म पटक–पटक वार्ता भए पनि सहमति जुट्न सकेन। आन्दोलनकारीले डीएसपी निलम्बनलाई नै मुख्य सर्त बनाएपछि वार्ता निष्कर्षविहीन बनेको हो।

बाराका सहायक प्रमुख जिल्ला अधिकारी छविरमण भट्टराईले डीएसपीलाई निलम्बन गर्ने माग जिल्ला प्रशासनको अधिकार क्षेत्रभन्दा बाहिर रहेको बताए।

“बुधबार राति ११ बजेसम्म भएको छलफलमा उहाँहरूले डीएसपी साबलाई निलम्बन गर्नुपर्ने अडान राख्नुभयो। उहाँहरूको माग जिल्ला तहको अधिकार क्षेत्रभन्दा बाहिरको विषय हो,” भट्टराईले भने।

प्रशासनले वार्तामार्फत समस्या समाधान गरी सडक सञ्चालनमा ल्याउने प्रयास गरिरहेको जनाएको छ। तर आन्दोलनकारीले भने आफ्ना माग सम्बोधन नभएसम्म सडक अवरोधसहितको आन्दोलन जारी राख्ने चेतावनी दिएका छन्।

लामो समयदेखि वीरगञ्ज–पथलैया सडकखण्ड अवरुद्ध हुँदा औद्योगिक करिडोरका उद्योग, व्यवसाय, यात्रु तथा ढुवानी सेवामा प्रत्यक्ष असर परेको छ। सडक अवरोधका कारण मालवाहक तथा सार्वजनिक सवारीसाधनसमेत गन्तव्यमा पुग्न सकेका छैनन्।

Leave A Reply

Your email address will not be published.