घरजग्गा विवादमा वडा अध्यक्ष कानुको स्पष्टिकरण : ‘कुनै पक्षको दबाबमा होइन, अदालतको आदेशमा प्रक्रिया अघि बढेको हो’

62

वीरगञ्ज, ९ भदौ । वीरगञ्ज महानगरपालिका–४ का वडा अध्यक्ष जगत साह कानुले ओम साई क्लिनिक एण्ड डायग्नोस्टिक सेन्टरका सञ्चालक सुरज कुमार चन्द्रवंशीले आफूमाथि लगाएका आरोप निराधार रहेको बताएका छन्।

मंगलबार सञ्चारकर्मीसँग कुरा गर्दै वडा अध्यक्ष कानुले नगर प्रहरी तथा नेपाल प्रहरी परिचालन गरी जबरजस्ती घर खाली गराउन खोजिएको भन्ने आरोपमा कुनै सत्यता नरहेको स्पष्ट पारे। उनले अदालतको फैसला तथा प्रचलित कानुनअनुसार नै घरजग्गा खाली गराउने प्रक्रिया अघि बढाइएको बताए।

वडा अध्यक्ष कानुका अनुसार विवादित घरजग्गा बैंकको लिलामी प्रक्रियामार्फत २ करोड ४१ लाख रुपैयाँमा सबिता देवी सर्राफको नाममा आएको हो। अदालतबाट समेत सबिता देवीको पक्षमा फैसला भएपछि फैसला कार्यान्वयनका लागि सम्बन्धित पक्षलाई घरजग्गा खाली गर्न आग्रह गरिएको उनले बताए।

उनका अनुसार २०८३ असार ११ गते अदालतबाट सबिता देवीको पक्षमा फैसला भएको थियो। त्यसपछि असार १५ गते सबिता देवीले घरजग्गा खाली गराइदिन वडा कार्यालयमा निवेदन दिएकी थिइन्। सोही निवेदन तथा अदालतबाट प्राप्त पत्रका आधारमा वडा कार्यालयले कानुनअनुसार सूचना जारी गरी आवश्यक प्रक्रिया अघि बढाएको कानुको भनाइ छ।

विवाद समाधानका लागि वडा कार्यालयले दुवै पक्षलाई आपसी सहमतिमा बसेर समस्या समाधान गर्न पटक–पटक आग्रह गरेको उनले बताए। तर सहमति हुन नसकेपछि विवाद थप जटिल बनेको र त्यसपछि वडा कार्यालयमाथि नै विभिन्न आरोप लगाइएको उनले बताए।

वडा अध्यक्ष कानुले सम्बन्धित पक्ष पितिड सर्राफले बैंकको २ करोड ४१ लाख रुपैयाँ तथा दुई वर्षको ब्याज बुझाएमा उक्त घरजग्गा तत्कालै सुरज कुमार चन्द्रवंशीको नाममा पास गरिदिने प्रतिबद्धता जनाएको समेत जानकारी दिए।

उनले बैंकको लगानी डुबाउने तथा अर्काको नाममा रहेको जग्गा हडप्ने मनसाय देखिएको भन्दै चन्द्रवंशीको नियतमाथि समेत प्रश्न उठाए। यद्यपि, वडा कार्यालयले भने कुनै व्यक्तिविशेषको पक्ष वा विपक्षमा नभई अदालतको आदेश र प्रचलित कानुनअनुसार आफ्नो दायित्व निर्वाह गरेको उनको स्पष्टिकरण छ।

वडा अध्यक्ष कानुले सबै पक्षलाई कानुनी प्रक्रियाको सम्मान गर्दै आपसी सहमतिका माध्यमबाट विवाद समाधान गर्न आग्रह गरेका छन्।

Leave A Reply

Your email address will not be published.