गहवा माई मन्दिरमा पूर्वमन्त्री चौरसिया र मन्त्री पटेलद्वारा विशेष पूजा, विपद् प्रभावितको उद्धारको कामना

78

वीरगञ्ज, १३ भदौ ।

देशका विभिन्न क्षेत्रमा आएको बाढी तथा प्राकृतिक विपद्बाट ठूलो जनधनको क्षति भइरहेकोप्रति दुःख व्यक्त गर्दै पूर्वमन्त्री एवं नेता अजय चौरसिया र मधेश प्रदेशका मन्त्री श्याम पटेलले वीरगञ्जस्थित प्रसिद्ध धार्मिकस्थल श्री गहवा माई मन्दिरमा विशेष पूजा तथा प्रार्थना गरेका छन्।

उनीहरूले गहवा माईसँग देशमा शान्ति, समृद्धि र सुख–शान्ति कायम रहोस् तथा विपद्बाट प्रभावित नागरिकको उद्धार, राहत र पुनःस्थापना प्रभावकारी रूपमा हुन सकोस् भन्ने कामना गरेका थिए।

प्रार्थनाका क्रममा प्राकृतिक विपद्मा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजन प्रति समवेदना व्यक्त गरिएको थियो। साथै, विपद्को समयमा प्रभावित नागरिकलाई राहत तथा सहयोग उपलब्ध गराउन सम्बन्धित निकाय थप सक्रिय हुनुपर्नेमा जोड दिइएको थियो।

संयोगवश सोही दिन पूर्व मन्त्री चौरसियाको जन्मदिन समेत परेको थियो। जन्मदिनको अवसरमा गहवा माई मन्दिर परिसरमै ज्योतिष डा. पुरुषोत्तम दुबेद्वारा चौरसियालाई गमछा ओढाएर सम्मान तथा शुभकामना प्रदान गरिएको थियो। डा. दुबेले चौरसियाको दीर्घायु, सुस्वास्थ्य तथा सफल राजनीतिक एवं सामाजिक जीवनको कामना गरेका थिए।

कार्यक्रममा दिना गुप्ता, मनिन्द्रलाल नेपाली, ध्रुव नेपाल, मिन्टू सिंह, विभा साह, कोपिला कँडेल, कामेश्वर मिश्र, धीरज साह लगायत विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा सहभागीहरूले विपद्को कठिन परिस्थितिमा सबै पक्ष एकजुट भएर प्रभावित नागरिकको उद्धार तथा राहतमा सहयोग गर्नुपर्ने धारणा व्यक्त गर्दै देशमा शान्ति, सद्भाव र स्थायित्व कायम होस् भन्ने सामूहिक प्रार्थना गरेका थिए।

Leave A Reply

Your email address will not be published.