वीरगन्जमा घर निर्माण मेला सुरु, मन्त्री कनिश पटेलले गरे उद्घाटन

99

वीरगन्ज, १९ भदौ । आनन्द पटेल

वीरगन्जमा घर निर्माणसम्बन्धी सामग्री, प्रविधि तथा सेवाबारे जानकारी दिने उद्देश्यले ‘बिल्डिङ ड्रिम्स, क्रियटिङ अपर्चुनिटिज, कनेक्टिङ इनोभेसन’ नारा सहित घर निर्माण मेला बिहीबारदेखि सुरु भएको छ।

ई होम सोलुसनको आयोजनामा वीरगन्ज स्थित चिल्ड्रेन पार्कमा सुरु भएको मेलाको उद्घाटन मधेश प्रदेशका उद्योग, वाणिज्य तथा पर्यटन मन्त्री कनिश पटेलले गरेका हुन्।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि मन्त्री पटेलले घर निर्माण केवल संरचना निर्माण गर्ने विषय नभई सुरक्षित, व्यवस्थित र आधुनिक जीवनशैलीसँग जोडिएको विषय भएको बताए। उनले निर्माण क्षेत्रमा भित्रिएका नयाँ प्रविधि, आधुनिक सामग्री र नवीन अवधारणाबारे सर्वसाधारणलाई प्रत्यक्ष जानकारी गराउने यस्ता मेलाले उपभोक्ता र व्यवसायीबीचको सम्बन्ध थप मजबुत बनाउन सहयोग पुग्ने धारणा व्यक्त गरे।

मन्त्री पटेलले स्थानीय स्तरमा उपलब्ध निर्माण सामग्री तथा प्रविधिको प्रवद्र्धनसँगै निजी क्षेत्रको लगानी र नवप्रवर्तनलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिए। उनले घर निर्माण गर्न चाहने सर्वसाधारणले एउटै स्थानमा विभिन्न कम्पनीका उत्पादन, प्रविधि र सेवाबारे जानकारी लिन सक्ने भएकाले मेला उपयोगी हुने बताए।

मेलामा घर निर्माणसँग सम्बन्धित विभिन्न कम्पनी तथा व्यवसायीहरूले आफ्ना निर्माण सामग्री, आधुनिक प्रविधि, डिजाइन, इन्टेरियर, घर निर्माणका समाधान तथा नवीन उत्पादनहरू प्रदर्शनमा राखेका छन्। मेलामा सहभागीहरूले निर्माण सामग्रीको गुणस्तर, प्रयोग, मूल्य तथा आधुनिक प्रविधिबारे प्रत्यक्ष जानकारी लिन सक्ने आयोजकले जनाएको छ।

त्यस्तै, निर्माण व्यवसायी, इन्जिनियर, डिजाइनर, प्रविधि तथा निर्माण सामग्रीसँग सम्बन्धित कम्पनी र सेवाप्रदायकबीच सम्पर्क तथा व्यवसायिक अवसर सिर्जना गर्ने उद्देश्य समेत मेलाले राखेको छ। नयाँ प्रविधि र नवप्रवर्तनलाई निर्माण क्षेत्रमा जोड्दै उपभोक्तालाई सहज र आधुनिक विकल्प उपलब्ध गराउने प्रयास मेलाको मुख्य विशेषता रहेको आयोजकको भनाइ छ।

उद्घाटन कार्यक्रममा जनमत पार्टीका पर्सा जिल्ला अध्यक्ष ओमप्रकाश सराफ, नेपाल इनोभेटिभ सोसाइटीका अध्यक्ष कमल चौगाई, देवेश मानव सेवा लगायत विभिन्न कम्पनीका पदाधिकारी, युवा समाजसेवी तथा स्थानीयको उपस्थिति रहेको थियो।

आयोजकका अनुसार मेला बिहीबारदेखि शनिबारसम्म चिल्ड्रेन पार्क, वीरगन्जमा सञ्चालन हुने छ। मेलामा सर्वसाधारणले घर निर्माणसँग सम्बन्धित विभिन्न उत्पादन तथा सेवाबारे जानकारी लिन र सम्बन्धित व्यवसायी तथा विशेषज्ञसँग प्रत्यक्ष छलफल गर्न सक्नेछन्।

Leave A Reply

Your email address will not be published.