नेपाल–भारत सीमा सुरक्षा बैठक : तस्करी नियन्त्रणदेखि व्यापार सहजीकरणसम्म छलफल
वीरगञ्ज ८ ।
नेपाल–भारत सीमा सुरक्षा समन्वय समितिको बैठक बुधबार भारतको रक्सौलस्थित एकीकृत भन्सार जाँच चौकी (आईसीपी) परिसरमा सम्पन्न भएको छ। बैठकमा नेपाल–भारत सीमामा हुने अवैध गतिविधि नियन्त्रण, सीमापार अपराध न्यूनीकरण तथा दुई देशबीचको व्यापारलाई थप सहज र व्यवस्थित बनाउने विषयमा छलफल भएको छ।
बैठकमा सीमा क्षेत्रमा हुने चोरी–तस्करी, लागूऔषध तथा अन्य अवैध गतिविधि नियन्त्रणका लागि दुवै देशका सुरक्षा निकायबीच समन्वय र सूचना आदान–प्रदानलाई थप प्रभावकारी बनाउने विषयमा विशेष जोड दिइएको थियो।
त्यसैगरी सीमापार आपराधिक गतिविधि नियन्त्रण, वन तथा वातावरण संरक्षण, सीमा व्यवस्थापन र व्यापारिक आवागमनलाई सहजीकरण गर्ने विषयमा समेत विस्तृत छलफल भएको एक प्रहरी अधिकारीले जानकारी दिए।
बैठकले सीमा क्षेत्रमा देखिने सुरक्षा चुनौतीलाई संयुक्त प्रयासबाट सम्बोधन गर्ने तथा दुवै देशका सुरक्षा र प्रशासनिक निकायबीच नियमित समन्वय कायम राख्ने विषयमा प्रतिबद्धता जनाएको छ।
बैठकमा नेपालतर्फबाट भारतसँग सीमा जोडिएका बारा र पर्सासहितका जिल्लाका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, सुरक्षा निकायका प्रमुख तथा वन कार्यालयका प्रतिनिधिहरू सहभागी थिए।
भारतका तर्फबाट पूर्वी चम्पारण र पश्चिमी चम्पारणका जिल्ला अधिकारी (डीएम), बिहार प्रहरीका दुवै जिल्लाका प्रमुख, सशस्त्र सीमा बल (एसएसबी)का कमान्डेन्ट तथा वन कार्यालयका उच्च अधिकारी एवं प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
बैठकले सीमा क्षेत्रमा सुरक्षा व्यवस्थालाई थप सुदृढ गर्दै अवैध गतिविधि नियन्त्रणसँगै वैध व्यापार तथा आवागमनलाई सहज बनाउने दिशामा दुवै देशबीचको सहकार्यलाई निरन्तरता दिने निष्कर्ष निकालेको छ।