भारी वर्षा र चट्याङको जोखिम : वीरगन्जका विद्यालय शुक्रबार बन्द
वीरगन्ज, असोज ८ आनन्द पटेल ।
भारी वर्षा, हावाहुरी तथा चट्याङको सम्भावनालाई मध्यनजर गर्दै वीरगन्ज महानगरपालिकाले शुक्रबार (असोज ९ गते) महानगर क्षेत्रभित्रका सम्पूर्ण विद्यालयमा पठनपाठन बन्द गर्ने निर्णय गरेको छ।
महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाले बिहीबार सूचना जारी गर्दै असोज ९ गते एक दिनका लागि महानगर क्षेत्रभित्र सञ्चालनमा रहेका सबै सामुदायिक तथा निजी विद्यालयको पठनपाठन स्थगित गर्ने जनाएको हो।

जल तथा मौसम पूर्वानुमान सम्बन्धी सूचना अनुसार असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना रहेकाले विद्यार्थी, शिक्षक तथा अभिभावकलाई विशेष सतर्कता अपनाउन महानगरपालिकाले आग्रह गरेको छ।
प्रतिकूल मौसमका कारण हुन सक्ने सम्भावित जोखिमलाई ध्यानमा राख्दै महानगरपालिकाले विद्यार्थी, शिक्षक तथा अभिभावकलाई सुरक्षित स्थानमा रहन तथा आवश्यक सावधानी अपनाउनसमेत अनुरोध गरेको छ।
महानगरपालिकाले मौसममा सुधार आएपछि नियमित पठनपाठन सञ्चालन गर्ने जनाएको छ।