मुख्य सडक विस्तारसँगै वीरगञ्जमा विद्युत् तार भूमिगत गर्न महानगरको माग
वीरगञ्ज ।
वीरगञ्ज महानगरपालिकाले मुख्य सडक विस्तारसँगै विद्युत् तार भूमिगत गर्न माग गरेको छ। महानगर प्रमुख राजेशमान सिंहले भूमिगत विद्युत् प्रणाली निर्माणका लागि आवश्यक बजेट व्यवस्था गर्न माग गर्दै सडक डिभिजन कार्यालय, हेटौँडाका प्रमुख किरण कार्कीलाई सोमबार आफ्नै कार्यकक्षमा पत्र बुझाएका हुन्।
मुख्य सडक विस्तारपछि पुनः ओभरहेड प्रणालीबाट विद्युत् तार जडान गर्दा भविष्यमा सडक मर्मत, विस्तार, यातायात व्यवस्थापन तथा शहरी सौन्दर्यीकरणमा समस्या आउन सक्ने भन्दै महानगरले सडक विस्तारकै क्रममा विद्युत् तार भूमिगत गर्न माग गरेको हो।
त्रिभुवन राजपथ अन्तर्गत गण्डक–घण्टाघर–भन्सार सडकखण्ड विस्तारको काम अघि बढिरहेका बेला विद्युत्का पोल तथा तारको व्यवस्थापनसमेत दीर्घकालीन रूपमा गर्नुपर्ने महानगरको धारणा छ।
यस अघि पनि महानगर प्रमुख सिंहले आवश्यक बजेट तत्काल विनियोजन गर्न ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयसँग माग गर्दै पत्राचार गरेका थिए। महानगरले सडक विस्तारसँगै विद्युत् प्रणालीलाई भूमिगत बनाउन सम्बन्धित निकायबीच आवश्यक समन्वय र बजेट व्यवस्थापनमा जोड दिएको छ।