राति गाउँ पसेको हात्तीले मच्चायो आतंक, ठोरीमा दुई जना घाइते
वीरगञ्ज । पर्साको ठोरी गाउँपालिका–४ मा जंगली हात्तीले आतंक मच्चाउँदा दुई जना घाइते भएका छन्। पर्सा राष्ट्रिय निकुञ्जबाट गाउँ पसेको हात्तीले स्थानीयको घरमा क्षति पुर्याउनुका साथै खाद्यान्न तथा उखुबालीमा समेत क्षति गरेको छ।
कुसुमवाटिका मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष बुद्ध पाख्रिनका अनुसार गएराति गाउँ पसेको हात्तीले स्थानीयको घर भत्काउन खोजेपछि सुरक्षित स्थानतर्फ भाग्ने क्रममा ठोरी–४ की ७२ वर्षीया पाँचमाया स्याङ्बो र उनकी नातिनी घाइते भएका हुन्।
रातिको समयमा हात्ती सिधै घरतर्फ आएको देखेपछि उनीहरू सुरक्षाका लागि छिमेकीको घरमा जाने क्रममा हात्तीले पछ्याएको पाख्रिनले बताए। उनका अनुसार उनीहरू छिमेकीको घरमा पस्ने क्रममा हात्तीले घरको पाली भत्काइदिँदा दुवै जना घाइते भएका हुन्।
पाख्रिनका अनुसार गएराति मात्रै हात्ती दुई पटक गाउँ पसेको थियो। हात्तीले स्थानीयको एउटा घर समेत भत्काएको छ। घरमा भण्डारण गरी राखिएको खाद्यान्न तथा उखुबालीमा समेत क्षति पुर्याएको उनले बताए।
पछिल्लो केही दिनयता रातको समयमा जंगली हात्ती गाउँ पस्ने र उपद्रो मच्चाउने क्रम बढेपछि स्थानीय त्रसित बनेका छन्। गाउँमा पस्ने हात्ती उग्र तथा आक्रामक अवस्थामा देखिएको भन्दै स्थानीयले सुरक्षाको माग गरेका छन्।