सन्तानको दीर्घायु र सुस्वास्थ्यको कामनामा जिउतियाको व्रत सुरु

35

असोज १६ ।

मधेसका महिलाले सन्तानको दीर्घायु, सुस्वास्थ्य र सुख–समृद्धिको कामना गर्दै मनाउने जिउतिया पर्वको व्रत विधिवत् सुरु गरेका छन्।

मधेसमा विशेष महत्त्वका साथ मनाइने जिउतिया सन्तानप्रतिको ममता र समर्पणसँग जोडिएको कठोर व्रत हो। यो पर्व परापूर्वकाल देखि तराई–मधेसका महिलाले मनाउँदै आएका छन्। थारू समुदायमा पनि जिउतियालाई उत्तिकै महत्त्वका साथ मनाउने गरिन्छ।

जिउतियाको व्रतमा व्रतालु महिलाले पोखरी, नदी वा जलाशयमा स्नान गरी व्रतको संकल्प लिने र त्यसपछि निराहार तथा निर्जल व्रत बस्ने परम्परा छ। व्रतका क्रममा जिमुतवाहन देवताको पूजा गर्नुका साथै पितृलाई समेत सम्झने र तर्पण दिने चलन छ।

यस्तो छ व्रतको विधि
व्रतको अघिल्लो दिन महिलाले बिहानै उठेर घर–आँगन लिपपोत गरी चोखो बनाउँछन्। त्यसपछि पिना, तेल, घिरौलाको पात, जियलको पात, बाँसको पात र नयाँ लुगा लिएर समूहमा पोखरी, नदी वा जलाशयमा पुग्छन्। त्यहाँ पिनाले स्नान गरी नयाँ लुगा लगाएर पितृ तथा जिमुतवाहन देवतालाई पिना र तेल चढाउने चलन छ।

व्रतको पहिलो दिन व्रतालु महिलाले नदी, पोखरी वा तलाउमा स्नान गरी सूर्यदेवलाई तोरीको तेल र पिनाको अर्घ दिएर व्रतको संकल्प गर्छन्। दिवङ्गत हजुरआमा, सासूआमालगायत तीन पुस्ताभित्रका महिला पितृलाई तर्पण दिने परम्परा रहेको राजविराज नगरपालिका–२ का ७५ वर्षीय शम्भु मिश्र बताउँछन्। उनका अनुसार यसलाई ‘षोडश मातृका श्राद्ध’ पनि भन्ने गरिन्छ।

व्रतको अघिल्लो दिन साँझ व्रतालुले विभिन्न परिकार, दही, मिठाई, माछा र कोदोको रोटी खाने चलन छ। त्यसपछि भोलिपल्ट बिहान ३ देखि ४ बजेसम्म घिरौलाको पातमा पितृ तथा जिमुतवाहनलाई दही, चिउरा, चिनी, केरा, मिठाई, पान र सुपारी चढाउने गरिन्छ।

व्रत बसेको दिन साँझ व्रतालुले छोराको संख्याअनुसार नरिवल, फलफूललगायत पूजाका सामग्री राखेर डाली भर्ने गर्छन्। उक्त डालीलाई छोराले पातले छोपिदिने चलन छ। व्रत सकिएपछि घरका छोरा वा नातिले डाली खोलेर प्रसाद निकाल्ने र पुनः पितृ तथा जिमुतवाहनलाई चढाएपछि परिवार तथा आफन्तलाई बाँड्ने गरिन्छ। त्यसपछि मात्र व्रतालुले पानी तथा अन्य खानेकुरा खाने परम्परा छ।

जिउतियामा व्रत निकै कठोर मानिन्छ। स्वास्थ्यमा समस्या भएका बिरामीबाहेक सन्तान भएका महिलाले सन्तानको दीर्घायु र सुस्वास्थ्यका लागि व्रत बस्ने परम्परा छ। व्रत सुरु गरिसकेपछि स्वास्थ्यमा समस्या आए पनि व्रत नतोड्ने धार्मिक विश्वाससमेत कतिपय समुदायमा रहेको छ।

व्रतको समयमा डाली छोप्ने तथा खोल्ने काम सामान्यतः छोरा, नाति वा श्रीमान्ले गर्ने गर्छन्। उनीहरू नभएको अवस्थामा नातेदार वा छिमेकी पुरुषलाई बोलाएर डाली खोलाउने चलनसमेत रहेको छ।

सामाजिक सद्भावसँग जोडिँदै जिउतिया
जितिया धार्मिक अनुष्ठानमा मात्र सीमित नरही सामाजिक सद्भाव र पारिवारिक सम्बन्ध बलियो बनाउने अवसरका रूपमा समेत विकास हुँदै गएको छ। आफन्त, साथीभाइ र छिमेकी महिलाहरू एकै ठाउँमा भेला भएर सामूहिक रूपमा दर खाने तथा शुभकामना आदानप्रदान गर्ने प्रचलन बढ्दै गएको छ।

वर्ष दिनदेखि भेटघाट हुन नसकेका आफन्त तथा साथीसँग भेट हुने अवसरसमेत जितियाले प्रदान गर्ने गरेको छ। सामूहिक कार्यक्रममा जितियासम्बन्धी गीत, कथा तथा महिलामा रहेका विभिन्न प्रतिभा प्रस्तुत गर्ने अवसरसमेत जुट्ने गरेको छ।

जितियामा जियल, बाँस र घिरौलाका पात अनिवार्य रूपमा प्रयोग तथा पूजा गरिने भएकाले यसले प्रकृति र वातावरण संरक्षणको सन्देशसमेत दिने गरेको छ।

सोह्रश्राद्धको अवधिमै जितिया पर्ने भएकाले यस पर्वमा महिलाले पितृप्रति सम्मान व्यक्त गर्ने परम्परा पनि रहँदै आएको छ। पितृको श्राद्ध छोराले मात्र गर्ने परम्परा रहेको समाजमा जितियामार्फत महिलाले समेत पितृलाई पानी दिने र प्रसादी चढाउने अभ्यासले महिलाको पितृप्रतिको धार्मिक तथा सामाजिक भूमिकालाई स्थापित गरेको संस्कृतिविद्हरू बताउँछन्।

यसरी जिउतिया सन्तानको दीर्घायु र सुस्वास्थ्यको कामनासँगै पारिवारिक सम्बन्ध, सामाजिक सद्भाव, महिला सहभागिता र प्रकृति प्रतिको सम्मानसँग जोडिएको मधेसको महत्त्वपूर्ण सांस्कृतिक पर्वका रूपमा स्थापित हुँदै आएको छ।

Leave A Reply

Your email address will not be published.