चाडपर्वमा सुरक्षा कडा पार्दै पर्सा प्रहरी, बजारदेखि धार्मिकस्थलसम्म विशेष निगरानी
वीरगञ्ज आनन्द ।
नेपालीहरूको महान् चाड बडादशैं, तिहार, नेपाल संवत् तथा छठ पर्वलाई सुरक्षित, शान्तिपूर्ण र सौहार्दपूर्ण वातावरणमा सम्पन्न गराउन जिल्ला प्रहरी कार्यालय पर्साले चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागू गरेको छ।
चाडपर्वका समयमा मानिसको आवतजावत बढ्ने, बजार तथा व्यापारिक क्षेत्रमा भीडभाड हुने, सार्वजनिक यातायातमा चाप बढ्ने तथा धार्मिक–सांस्कृतिक गतिविधिसँगै आर्थिक कारोबारसमेत बढ्ने भएकाले जिल्लाको शान्ति सुरक्षा थप सुदृढ बनाउन विशेष सुरक्षा योजना लागू गरिएको प्रहरीले जनाएको छ।
योजनाअन्तर्गत जिल्लाका विभिन्न स्थानमा प्रहरी जनशक्ति परिचालन गरी विशेष निगरानी, नियमित गस्ती तथा चेकजाँचलाई प्रभावकारी बनाइएको छ। बजार, सार्वजनिक स्थल, यातायात क्षेत्र तथा धार्मिक एवं सांस्कृतिक गतिविधि हुने स्थानमा सुरक्षा निगरानी बढाइएको प्रहरीले जनाएको हो।
चाडपर्वका समयमा आपराधिक घटना, शान्ति सुरक्षामा खलल, मादक तथा मनोद्दीपक पदार्थ सेवन गरी सवारी चलाउने, जुवातास खेल्ने तथा खेलाउने, आतसवाजी गर्ने र ठगीलगायतका गतिविधि हुन सक्ने भन्दै प्रहरीले सर्वसाधारणलाई सचेत रहन आग्रह गरेको छ।
जिल्ला प्रहरी कार्यालय पर्साले कुनै पनि आपराधिक गतिविधि वा शान्ति सुरक्षामा असर पार्ने घटना देखिए तत्काल नजिकको प्रहरी कार्यालयमा जानकारी गराउन सर्वसाधारणलाई अपिल गरेको छ।
प्रहरीले चाडपर्वलाई सुरक्षित, मर्यादित र उल्लासमय बनाउन प्रहरीसँगै नागरिकको पनि महत्वपूर्ण भूमिका रहने जनाएको छ। सम्भावित आपराधिक गतिविधि तथा त्यसमा संलग्न व्यक्तिबारे समयमै प्रहरीलाई सूचना दिएर नागरिक दायित्व निर्वाह गर्नसमेत कार्यालयले आग्रह गरेको छ।