जनमत पार्टी पर्साद्वारा चियापान तथा शुभकामना आदानप्रदान, नवनिर्वाचित केन्द्रीय पदाधिकारी सम्मानित

83

वीरगञ्ज, कार्तिक ७।

जनमत पार्टी, पर्साको आयोजनामा दशैं, दीपावली तथा छठ पर्वको अवसरमा चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। सोही अवसरमा पार्टीको दोस्रो महाधिवेशनबाट निर्वाचित पर्सा जिल्लाका केन्द्रीय पदाधिकारी तथा केन्द्रीय कार्यकारिणी सदस्यहरूलाई सम्मान गरिएको छ।

जनमत पार्टी पर्साका जिल्ला अध्यक्ष ओमप्रकाश सरार्फको अध्यक्षता तथा पार्टीका राष्ट्रिय उपाध्यक्ष माधव सिंहको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि, उद्योग वाणिज्य क्षेत्रका अगुवा, पार्टीका केन्द्रीय नेता तथा जिल्लाभरिका नेता–कार्यकर्ताहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतम, जनता समाजवादी पार्टी (जसपा) नेपालका पर्सा जिल्ला अध्यक्ष रामनरेश यादव तथा जनमत पार्टीका केन्द्रीय कार्यकारिणी सदस्यहरू रम्भा मिश्र, विनय यादव, अनिता रौनियार, मालती कुशवाहा र राजुराज गिरी लगायतको उपस्थिति रहेको थियो।

त्यसैगरी, जनमत पार्टी पर्साका जिल्ला उपाध्यक्षद्वय नागेन्द्र गुप्ता र जमिला खातुन, जिल्ला सचिव फुलेना कुशवाहा, सहसचिव सत्जुग साह लगायत विभिन्न वडा, पालिका तथा जिल्ला तहका नेता–कार्यकर्ताहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रममा दशैं, दीपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान गर्दै आपसी सद्भाव, सामाजिक एकता, भाइचारा र सहकार्यलाई थप सुदृढ बनाउनुपर्नेमा जोड दिइएको थियो। विभिन्न समुदायबीचको सद्भाव र सहअस्तित्व कायम राख्दै चाडपर्वलाई सामाजिक एकता र आपसी सम्बन्ध सुदृढ बनाउने अवसरका रूपमा मनाउनुपर्ने धारणा व्यक्त गरिएको थियो।

यसै अवसरमा जनमत पार्टीको दोस्रो महाधिवेशनबाट पर्सा जिल्लाको प्रतिनिधित्व गर्दै केन्द्रीय पदाधिकारी तथा केन्द्रीय कार्यकारिणी सदस्यमा निर्वाचित नेताहरूलाई सम्मान गरिएको थियो। सम्मानले पार्टीको संगठनात्मक एकता मजबुत बनाउनुका साथै नेता–कार्यकर्तालाई आगामी राजनीतिक यात्रामा थप उत्साह र ऊर्जा प्रदान गर्ने विश्वास व्यक्त गरिएको थियो।

कार्यक्रममा सहभागी नेताहरूले मधेशको अधिकार, पहिचान, सामाजिक न्याय तथा आर्थिक र सामाजिक रूपान्तरणका सवालमा एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिएका थिए।

चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रमले विभिन्न राजनीतिक दलका प्रतिनिधि, उद्योग वाणिज्य क्षेत्रका अगुवा तथा जनमत पार्टीका नेता–कार्यकर्ताबीच आपसी सम्बन्ध, सद्भाव र सहकार्यलाई थप मजबुत बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको आयोजकले जनाएको छ।

Leave A Reply

Your email address will not be published.