वीरगञ्जको रानीघाटबाट हराए अभिषेक चौधरी, परिवारद्वारा खोजीका लागि अपिल

53

वीरगञ्ज । बारा जिल्लाको कोल्हवी नगरपालिका–१० बेलुवा टोलका १८ वर्षीय अभिषेक चौधरी एक सातादेखि बेपत्ता भएका छन्। छोरा हराएको लामो समय बितिसक्दा पनि प्रहरीले प्रभावकारी खोजी नगरेको भन्दै उनका बुवा गजेन्द्र प्रसाद चौधरीले गुनासो गरेका छन्।

शनिबार नेपाल पत्रकार महासङ्घको सभाहलमा आयोजित पत्रकार सम्मेलन मार्फत गजेन्द्रप्रसाद चौधरीले आफ्नो छोरा गत शनिबार बिहान ७ बजे वीरगञ्जको रानीघाटबाट बेपत्ता भएको जानकारी दिएका हुन्।

बुवा चौधरीका अनुसार छोरा हराएपछि उनले सिमरा स्थित इलाका प्रहरी कार्यालय र जितपुरस्थित प्रहरी चौकीमा जानकारी गराउँदै खोजीका लागि सहयोग मागेका थिए। तर, प्रहरीले अपेक्षाअनुसार सहयोग नगरेको उनको गुनासो छ। प्रहरीबाट ‘हामीले सेटमा कुरा गरिसकेका छौँ, फेला परेको खण्डमा खबर गरिहाल्छौँ’ भन्ने जवाफ पाउने गरेको उनले बताए।

उनले बाराका प्रमुख जिल्ला अधिकारीलाई समेत फोन मार्फत छोरा हराएको जानकारी गराएको र भोलिपल्ट कार्यालयमा आउन भनिएको पत्रकार सम्मेलनमा बताए।

छोरा बेपत्ता भएको एक साता बितिसक्दा पनि खोजी कार्यमा पर्याप्त चासो नदेखिएको महसुस भएपछि आफू पत्रकार सम्मेलन मार्फत सार्वजनिक रूपमा सहयोग माग्न बाध्य भएको चौधरीले बताए।

बेपत्ता अभिषेक सुस्त मनस्थितिका रहेको बताउँदै उनले छोरालाई देख्ने वा उनको अवस्थाबारे कुनै जानकारी पाउने महानुभावलाई सहयोग गरिदिन आग्रह गरेका छन्।

अभिषेकबारे कुनै जानकारी भएमा ९८०७२७४१४९ नम्बरमा सम्पर्क गरिदिन परिवारले अपिल गरेको छ।

पत्रकार सम्मेलनमा अभिषेकका सानुबुवा सुभाष चौधरी, माइजू रिना चौधरी तथा दिदीहरू मौसम चौधरी र हेमा चौधरी लगायतको उपस्थिति रहेको थियो।

Leave A Reply

Your email address will not be published.