बंगालको खाडीको न्यून चापीय प्रणालीले नेपालमा वर्षा गराउने सम्भावना, २९ जिल्ला जोखिममा

52

वीरगञ्ज । बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीको प्रभावले आगामी बिहीबारदेखि नेपालका विभिन्न स्थानमा वर्षा हुने सम्भावना देखिएको छ। प्रारम्भिक आकलन अनुसार देशका २९ जिल्लामा वर्षाको प्रभाव बढी पर्न सक्ने मौसमविद्ले बताएका छन्।

त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक डा. विनोद पोखरेलका अनुसार उक्त प्रणालीको प्रभावले तीनदेखि चार दिनसम्म वर्षा हुन सक्ने छ। केही स्थानमा भारी वर्षा समेत हुने सम्भावना रहेको उनले बताएका छन्।

भारतको आन्ध्र प्रदेश आसपास हुँदै नेपालतर्फ अघि बढ्ने अनुमान गरिएको उक्त प्रणालीको प्रभाव बिहीबार रातिदेखि थप बढ्न सक्नेछ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा वर्षाको प्रभाव बढी पर्ने सम्भावना छ भने कर्णाली र सुदूरपश्चिम प्रदेशमा तुलनात्मक रूपमा कम प्रभाव पर्ने प्रारम्भिक अनुमान गरिएको छ।

केही स्थानमा १५० मिलिमिटर भन्दा बढी वर्षाको सम्भावना

डा. पोखरेलले सार्वजनिक गरेको प्रारम्भिक जोखिम नक्साअनुसार कात्तिक १२ देखि १५ गतेसम्म केही स्थानमा १५० मिलिमिटरभन्दा बढी वर्षा हुन सक्ने सम्भावना छ। लुम्बिनी, गण्डकी, बागमती र कोशी प्रदेशका विभिन्न जिल्लासहित २९ जिल्लामा तुलनात्मक रूपमा बढी जोखिम देखिएको छ।

यद्यपि, मौसम प्रणालीको मार्ग र तीव्रतामा हुने परिवर्तनसँगै वर्षाको मात्रा तथा जोखिममा पर्ने जिल्लाको सूचीसमेत परिवर्तन हुन सक्ने उनले बताएका छन्। मौसम पूर्वानुमान महाशाखाले पनि आगामी दिनमा वर्षाको गतिविधि बढ्न सक्ने जनाएको छ।

तीन मौसमी प्रणालीको संयुक्त प्रभाव पर्न सक्ने

मौसमविद्का अनुसार दक्षिण भारतमा उत्तरपूर्वी मनसुन सक्रिय रहनुका साथै न्यून चापीय प्रणाली विकसित भइरहेको छ। बंगालको खाडीमा बनेको अर्को न्यून चापीय प्रणाली नेपालतर्फ आउने सम्भावना छ। यसका अतिरिक्त पश्चिमी वायुको प्रभावसमेत कायम रहेकाले वर्षाको सम्भावना बढ्न सक्ने विश्लेषण गरिएको छ।

बंगालको खाडीबाट आउने जलवाष्पयुक्त हावा र माथिल्लो वायुमण्डलको अवस्थाले नेपालमा वर्षाको तीव्रता निर्धारण गर्न सक्ने मौसमविद् पोखरेलको भनाइ छ।

तराईमा डुबान, पहाडमा पहिरो र हिमाली क्षेत्रमा हिमपातको जोखिम

सम्भावित वर्षाका कारण तराई–मधेशका जिल्लामा डुबान, पहाडी क्षेत्रमा पहिरो तथा हिमाली क्षेत्रमा हिमपातको जोखिम रहन सक्ने मौसमविद्ले बताएका छन्। मनाङसहित हिमाली जिल्लामा समेत प्रतिकूल मौसमको सम्भावना रहेकाले विशेष सतर्कता अपनाउन सुझाव दिइएको छ।

विशेषगरी बिहीबार रातिदेखि शुक्रबार रातिसम्मको अवधिमा सतर्कता अपनाउनुपर्ने देखिएको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीका अनुसार बंगालको खाडीमा उत्पन्न प्रणाली विकसित हुँदै भारतको ओडिशा र बिहार हुँदै नेपालतर्फ आउन सक्नेछ। यसका कारण पूर्वी नेपालका केही जिल्लामा मध्यमदेखि भारी वर्षा तथा हिमाली क्षेत्रमा भारी हिमपातको सम्भावना रहेको उनले बताएका छन्।

यात्रा नगर्न र धान नकाट्न मौसमविद्को सुझाव

सम्भावित प्रतिकूल मौसमलाई ध्यानमा राख्दै मौसमविद्ले लामो दूरीको यात्रा नगर्न, हिमाली क्षेत्रमा पदयात्रा नगर्न तथा धान काट्ने र भित्र्याउने काम केही दिनका लागि स्थगित गर्न सुझाव दिएका छन्।

डा. उप्रेतीले दशैँपछि कार्यस्थल फर्किने तयारीमा रहेकाहरूलाई शुक्रबार र शनिबार यात्रा नगर्न आग्रह गरेका छन्। मौसमविद् उज्ज्वल उपाध्यायले पनि कात्तिक ११ देखि १५ गतेसम्म लामो दूरीको यात्रा नगर्न, बाली काट्ने तथा भित्र्याउने काम रोक्न र पदयात्रामा नजान सुझाव दिएका छन्।

उनका अनुसार यात्राका क्रममा पृथ्वी राजमार्ग र बीपी राजमार्गमा विशेष सावधानी अपनाउन आवश्यक छ।

सम्भावित वर्षालाई ध्यानमा राख्दै सम्बन्धित निकायले मौसमको पछिल्लो अवस्था र आधिकारिक पूर्वानुमानअनुसार यात्रा तथा कृषि कार्यको योजना बनाउन र सम्भावित विपद्बाट जोगिन आवश्यक सतर्कता अपनाउन आग्रह गरेका छन्।

Leave A Reply

Your email address will not be published.