असोजमा वीरगञ्ज भन्सारद्वारा लक्ष्य भन्दा २६ करोड बढी राजस्व संकलन
वीरगञ्ज । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको असोज महिनामा २६ अर्ब ७२ करोड ५८ लाख रुपैयाँ राजस्व संकलन गरेको छ। कार्यालयले यस अवधिमा निर्धारण गरेको लक्ष्य भन्दा २६ करोड ५८ लाख रुपैयाँ बढी राजस्व संकलन गरेको हो।
भन्सार कार्यालयले असोज महिनामा २६ अर्ब ४६ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो। तर, लक्ष्य भन्दा बढी राजस्व संकलन गर्न सफल भएको कार्यालयले जनाएको छ।
प्रमुख भन्सार प्रशासक कृष्णप्रसाद मैनालीका अनुसार असोज महिनामा इन्धन आयातबाट मात्रै दुई अर्ब २९ करोड रुपैयाँ राजस्व प्राप्त भएको छ। त्यसैगरी, खाना पकाउने एलपीजी ग्यासको आयातबाट एक अर्ब ८० करोड, अलकत्रा (बिटुमिन) आयातबाट एक अर्ब ४० करोड तथा स्याउ र नास्पाती आयातबाट ५० करोड रुपैयाँ राजस्व संकलन भएको छ।
कार्यालयका अनुसार चालु आर्थिक वर्षको असोज मसान्तसम्म ७० अर्ब ५६ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य रहेकामा ६९ अर्ब १३ करोड रुपैयाँ संकलन भएको छ। यस अवधिमा लक्ष्यको तुलनामा एक अर्ब ४३ करोड रुपैयाँ कम राजस्व संकलन भएको देखिन्छ।
चाडपर्वका समयमा आयात हुने वस्तु तथा इन्धन लगायतका सामग्रीबाट प्राप्त राजस्वले असोज महिनामा लक्ष्य भन्दा बढी राजस्व संकलन गर्न सहयोग पुगेको हो।