महिला क्रिकेटको नयाँ युग ल्याउने तयारीमा प्याब्सन वीरगञ्ज–पर्सा
वीरगञ्ज । विद्यालयस्तरबाटै महिला क्रिकेटको विकास र नयाँ प्रतिभाको पहिचान गर्ने उद्देश्यले प्याब्सन वीरगञ्ज–पर्साले विशेष अभियान सञ्चालन गर्ने तयारी गरेको छ।
प्याब्सन वीरगञ्ज–पर्साका महानगर अध्यक्ष राहुल श्रीवास्तवले छात्राहरूलाई क्रिकेटप्रति आकर्षित गर्दै उनीहरूमा रहेको खेल प्रतिभा पहिचान र प्रोत्साहन गर्ने लक्ष्यसहित अभियान अघि बढाउन लागिएको जानकारी दिएका छन्।
‘महिला क्रिकेटको नयाँ युग आउँदैछ’ भन्ने नारासहित सञ्चालन गर्न लागिएको अभियानले महिला क्रिकेटप्रति आकर्षण बढाउनुका साथै खेलकुद क्षेत्रमा छात्राहरूको सहभागिता वृद्धि गर्ने अपेक्षा गरिएको छ।
अध्यक्ष श्रीवास्तवका अनुसार नयाँ पुस्ताका महिला क्रिकेट खेलाडीलाई आफ्नो जोश, प्रतिभा र क्षमता प्रदर्शन गर्ने अवसर प्रदान गर्नु अभियानको मुख्य उद्देश्य रहेको छ। विद्यालय तहबाटै क्रिकेटमा छात्राहरूको सहभागिता बढाउँदै लुकेका प्रतिभालाई राष्ट्रिय स्तरसम्म पुर्याउने वातावरण निर्माण गर्न प्याब्सनले पहल गर्न लागेको हो।
गुणस्तरीय शिक्षासँगै खेलकुदको विकासलाई समेत प्राथमिकता दिँदै विद्यालयहरूमा महिला क्रिकेटका लागि सकारात्मक वातावरण निर्माण गर्ने प्याब्सनको योजना छ।
अभियानको औपचारिक मिति, सहभागी विद्यालयको संख्या तथा प्रतियोगितासम्बन्धी विस्तृत विवरण चाँडै सार्वजनिक गरिने अध्यक्ष श्रीवास्तवले बताएका छन्।
महिला क्रिकेटको विकास र नयाँ खेल प्रतिभाको पहिचानका लागि प्याब्सनले अघि सारेको यस पहललाई वीरगञ्जको खेलकुद क्षेत्रमा सकारात्मक रूपमा हेरिएको छ।