पोलियो उन्मूलनको सन्देश फैलाउँदै वीरगञ्जमा भव्य र्‍याली, मितेरी पुलसम्म प्रदर्शन

60

वीरगञ्ज, १५ कात्तिक ।

पोलियो रोगको पूर्ण उन्मूलन गर्ने सन्देश फैलाउँदै वीरगञ्जमा आइतबार भव्य जनचेतना मूलक र्‍याली आयोजना गरिएको छ।

अक्टोबर २४ देखि सुरु भएको पोलियो अन्त्य सप्ताह (End Polio Week) को समापनका अवसरमा रोटरी क्लब अफ वीरगञ्ज र रोटरी क्लब अफ वीरगञ्ज मेट्रोपोलिसको संयुक्त आयोजनामा र्‍याली निकालिएको हो।

वीरगञ्जको घण्टाघरबाट सुरु भएको र्‍याली सीमावर्ती भारतीय सहर रक्सौल स्थित मितेरी पुलसम्म पुगेको थियो। रक्सौल पुग्दा भारत विकास परिषद्का सदस्यहरूले र्‍यालीका सहभागीलाई स्वागत गरेका थिए। र्‍यालीले नेपाल–भारतबीच सामाजिक सहकार्य र एकताको सन्देशसमेत प्रवाह गरेको थियो।

र्‍यालीमा रोटरी, रोट्र्याक्ट, इन्टर्याक्ट क्लब तथा इनर ह्वीलका सदस्यहरूको उल्लेख्य सहभागिता रहेको थियो। सहभागीहरू साइकल, मोटरसाइकल, स्कुटी तथा चारपाङ्ग्रे सवारीसाधनसहित पोलियो उन्मूलनसम्बन्धी सन्देश लेखिएका प्लेकार्ड र नारासहित सहभागी भएका थिए।

आयोजकका अनुसार विश्वबाट पोलियो रोग पूर्ण रूपमा उन्मूलन नभएसम्म यसको जोखिम कायम रहने भएकाले निरन्तर जनचेतना आवश्यक छ। विशेषगरी बालबालिकालाई पोलियोबाट सुरक्षित राख्न नियमित खोपको महत्त्वबारे सर्वसाधारणलाई जानकारी गराउनु अभियानको मुख्य उद्देश्य रहेको थियो।

कार्यक्रम रोटरी क्लब अफ वीरगञ्जका अध्यक्ष रोटरियन राकेश मिश्र र रोटरी क्लब अफ वीरगञ्ज मेट्रोपोलिसका अध्यक्ष रोटरियन राजकिशोर प्रसादको संयुक्त अध्यक्षतामा सम्पन्न भएको थियो।

आयोजकले पोलियो उन्मूलनको लक्ष्य पूरा गर्न सरकार, स्वास्थ्यकर्मी, सामाजिक सङ्घसंस्था र आम नागरिकबीच सहकार्य तथा निरन्तर जनचेतना आवश्यक रहेकोमा जोड दिएका छन्।

Leave A Reply

Your email address will not be published.