छठमा दुई दिन राष्ट्रिय बिदा र प्रमुख धार्मिक स्थलमा हेलिकप्टरबाट पुष्पवृष्टि गर्न अध्यक्ष सन्तोषानन्दको माग
वीरगञ्ज, २५ कात्तिक आनन्द पटेल।
सनातन हिन्दू मोर्चाका केन्द्रीय अध्यक्ष सन्तोषानन्दले छठ पर्वको अवसरमा दुई दिन राष्ट्रिय बिदा दिन नेपाल सरकारसँग माग गरेका छन्। साथै, छठ पर्वका अवसरमा देशका विभिन्न धार्मिक तथा सांस्कृतिक महत्व बोकेका स्थानमा हेलिकप्टरबाट पुष्पवृष्टि गर्न पनि उनले सरकारसँग आग्रह गरेका छन्।
नेपाल देवभूमि तथा सनातन धर्मको उद्गमस्थल भएको उल्लेख गर्दै अध्यक्ष सन्तोषानन्दले छठ पर्वको धार्मिक, सांस्कृतिक र सामाजिक महत्वलाई ध्यानमा राखेर सरकारले दुई दिन सार्वजनिक बिदा दिनुपर्ने बताएका हुन्।
उनका अनुसार २०८३ साल कात्तिक २९ र ३० गते छठ पर्व परेको छ। आइतबार सार्वजनिक बिदा रहेकाले सोमबार समेत राष्ट्रिय बिदा घोषणा गरिए छठ पर्व मनाउने व्रतालु तथा श्रद्धालु भक्तजनलाई ठूलो राहत पुग्नेछ। चार दिनसम्म मनाइने छठ पर्वका लागि दुई दिन बिदा आवश्यक रहेको उनको भनाइ छ।
त्यसैगरी, वीरगञ्ज, जनकपुरधाम, काठमाडौं, चितवन, विराटनगर, गोरखा, कपिलवस्तु र लुम्बिनी लगायतका स्थानमा हेलिकप्टरबाट पुष्पवृष्टि गरी छठ पर्वको धार्मिक तथा सांस्कृतिक महत्त्वलाई सम्मान गर्न उनले सरकारसँग अनुरोध गरेका छन्।
छठ पर्वका बेला तराई–मधेसका विभिन्न स्थानमा अवाञ्छित गतिविधि हुन सक्ने भन्दै अध्यक्ष सन्तोषानन्दले शान्ति सुरक्षा कायम गर्न र सम्भावित घटनाप्रति सतर्क रहन गृह प्रशासनलाई समेत आग्रह गरेका छन्।
छठ पर्वको पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै उनले देशमा सुख, शान्ति, समृद्धि र सद्भाव कायम होस् भनी छठी मैयासँग प्रार्थनासमेत गरेका छन्।