जसपा नेपाल छाडेका १८ जनप्रतिनिधिको पद रिक्त, पर्साका दुई वडाध्यक्ष पनि पदमुक्त

129

वीरगञ्ज । जनता समाजवादी पार्टी, नेपाल (जसपा नेपाल) त्यागेर अन्य दलमा आबद्ध भएका विभिन्न जिल्लाका १८ जना स्थानीय तहका जनप्रतिनिधिको पद निर्वाचन आयोगले खारेज गरेको छ। आयोगले सार्वजनिक सूचना जारी गर्दै उनीहरूको निर्वाचित पद रिक्त भएको जनाएको हो।

निर्वाचन आयोगका अनुसार २०८३ मंसिर २ गतेको निर्णय अनुसार राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ३२ तथा राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ बमोजिम उनीहरूको पद रिक्त गरिएको हो।

२०७९ सालको स्थानीय तह निर्वाचनमा जसपा नेपालबाट निर्वाचित भएका जनप्रतिनिधिहरूले पार्टीको नीति, सिद्धान्त र निर्णयविपरीत कार्य गर्दै दल त्याग गरेको भन्दै पार्टीको केन्द्रीय समन्वय समितिले आयोगमा जानकारी गराएको थियो। सोही जानकारीका आधारमा आयोगले पद रिक्त गर्ने निर्णय गरेको जनाएको छ।

पद गुमाउनेमा सिरहाको लहान नगरपालिकाका उपप्रमुख रामचरितर महतो, सखुवानान्कारकट्टी गाउँपालिका–४ का वडाध्यक्ष रमेशकुमार यादव र धनगढीमाई नगरपालिका–७ का वडाध्यक्ष विजयकुमार महतो रहेका छन्।

त्यस्तै, पर्साको कालिकामाई गाउँपालिका–१ का वडाध्यक्ष लालबाबु राउत बरै र वडा नम्बर ३ का वडाध्यक्ष सञ्जयकुमार पटेलको पद समेत रिक्त भएको छ। आयोगको निर्णयसँगै कालिकामाई गाउँपालिकाका दुई वडाध्यक्ष पदमुक्त भएका छन्।

खोटाङका जिल्ला समन्वय समिति प्रमुख सनबहादुर राई र केपिलासगढी गाउँपालिकाका उपाध्यक्ष गुरुराज राईको पद पनि रिक्त भएको छ।

यसैगरी, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगर कार्यपालिका सदस्य वीरेन्द्रकुमार दर्नाल, वडा नम्बर १० का वडाध्यक्ष मुगा धन राई, वडा महिला सदस्य कल्पना राई, दलित महिला सदस्य गीता विक तथा वडा सदस्यहरू रामधन राई र शहरमनी राईको पदसमेत खारेज गरिएको छ।

इलामको माङसेबुङ गाउँपालिकाका उपाध्यक्ष विनोदकुमार नेम्वाङ, सन्दकपुर गाउँपालिका–४ का वडाध्यक्ष ढालबहादुर गुरुङ, भोजपुरको टेम्केमैयुङ गाउँपालिका–२ का वडाध्यक्ष बालचन्द्र राई र उदयपुरको लिम्चुङबुङ गाउँपालिका–४ का वडाध्यक्ष छत्रबहादुर राई पनि पद गुमाउने जनप्रतिनिधिमा परेका छन्।

निर्वाचन आयोगको यस निर्णयसँगै विभिन्न जिल्लाका १८ जना जनप्रतिनिधिले स्थानीय तहमा निर्वाचित पद गुमाएका छन्। निर्णयबाट पर्साको कालिकामाई गाउँपालिकाका दुई वडाध्यक्ष समेत प्रभावित भएका छन्।

Leave A Reply

Your email address will not be published.