रोमानियामा ६ सय नेपाली श्रमिकको रोजगारी संकटमा, तलब र होस्टेल शुल्कमा विवाद

4

काठमाडौं, मंसिर ८ । तलब तथा आवास सुविधासम्बन्धी विवाद चर्किएपछि रोमानियामा कार्यरत ६ सयभन्दा बढी नेपाली श्रमिक समस्यामा परेका छन्। रोजगार सम्झौताअनुसारको तलब नपाएको र निःशुल्क भनिएको आवास सुविधाबापत समेत रकम कटौती गर्न खोजिएको भन्दै श्रमिकहरू काम बन्द गर्नुपर्ने अवस्थामा पुगेका हुन्।

नेपालस्थित टाइम म्यानेजमेन्ट प्रालिमार्फत रोजगारीका लागि रोमानिया पुगेका श्रमिकहरूले आफूहरूमाथि अन्याय भएको गुनासो गरेका छन्। उनीहरूका अनुसार रोमानिया जान प्रतिव्यक्ति करिब १० लाख रुपैयाँ खर्च भएको थियो।

श्रमिकहरूलाई रोमानियास्थित बिसार लजिस्टिक्स प्रालिमार्फत विभिन्न कम्पनीमा काममा लगाइएको थियो। नेपालबाट जाँदा गरिएको रोजगार सम्झौतामा मासिक आधारभूत तलब २ हजार ६ सय ९९ रोमानियन ल्यु (आरओएन) उल्लेख गरिएको थियो। तर, अहिले कम्पनीले २ हजार ४ सय ५५ ल्यु मात्रै दिने बताएपछि विवाद उत्पन्न भएको श्रमिकहरूको भनाइ छ।

सम्झौतामा उल्लेखित तलब भन्दा मासिक २४४ ल्यु कम दिने प्रस्ताव गरिएको भन्दै श्रमिकहरूले सम्बन्धित एजेन्सीसँग छलफल गरे पनि समस्या समाधान हुन नसकेको बताएका छन्।

विवाद बढ्दै जाँदा ६ सयभन्दा बढी नेपाली श्रमिक कामविहीन हुने अवस्थामा पुगेका छन्। काममा नआए होस्टेल छाड्नुपर्ने आशयको सन्देशसमेत बिसार लजिस्टिक्सबाट प्राप्त भएको श्रमिकहरूले बताएका छन्।

त्यस्तै, रोजगार सम्झौतामा होस्टेल सुविधा निःशुल्क उपलब्ध गराउने उल्लेख भए पनि अहिले त्यसबापत मासिक ३०० ल्यु कटौती गर्न खोजिएको उनीहरूको गुनासो छ। सम्झौताअनुसार तलब नपाउने र बसोबासको सुविधासमेत अनिश्चित भएपछि आफूहरू थप समस्यामा परेको श्रमिकहरूले बताएका छन्।

समस्यामा परेका नेपाली श्रमिकहरूले नेपाल सरकारको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र परराष्ट्र मन्त्रालयलाई घटनाबारे तत्काल चासो लिन आग्रह गरेका छन्।

उनीहरूले रोमानियास्थित नेपाली दूतावासलाई सम्बन्धित कम्पनी तथा श्रमिकसँग प्रत्यक्ष सम्पर्क गरी घटनाको निष्पक्ष छानबिन गर्न माग गरेका छन्। नेपालबाट जाँदा गरिएको रोजगार सम्झौता र कम्पनीले अहिले उपलब्ध गराउन खोजेको तलबबीचको अन्तर तथा निःशुल्क भनिएको होस्टेलका नाममा रकम कटौती गर्न खोजिएको विषयमा छानबिन हुनुपर्ने उनीहरूको माग छ।

साथै, श्रमिकलाई कामबाट निकाल्ने, होस्टेलबाट हटाउने वा अन्य कुनै किसिमको दबाब दिने कार्य तत्काल रोक्न पनि उनीहरूले सरकारसँग आग्रह गरेका छन्।

Leave A Reply

Your email address will not be published.