वीरगञ्ज, पर्सा आनन्द पटेल।
वीरगञ्ज स्थित माउन्ट मकालु सेकेन्डरी स्कुलमा साइबर अपराध तथा डिजिटल सुरक्षा सम्बन्धी सचेतना मूलक कक्षा सञ्चालन गरिएको छ।
कक्षामा काठमाडौं स्कूल अफ लका उपप्राध्यापक तथा अधिवक्ता बाबुराजा शाक्यले विद्यार्थीहरूलाई अनलाइन सुरक्षा, साइबर ठगी, सामाजिक सञ्जालको सुरक्षित प्रयोग तथा व्यक्तिगत विवरणको गोपनीयता सम्बन्धी महत्वपूर्ण जानकारी दिनु भएको थियो।
उहाँले विद्युतीय कारोबार ऐन, २०६३ मा रहेका कानुनी व्यवस्था, साइबर अपराधका विभिन्न स्वरूप, यसबाट बच्ने उपाय तथा साइबर अपराधमा संलग्न हुँदा हुन सक्ने कानुनी कारबाहीबारे समेत विद्यार्थीहरूलाई जानकारी गराउनुभएको थियो।
कार्यक्रमका क्रममा विद्यार्थीहरूलाई इन्टरनेट तथा डिजिटल प्रविधिको प्रयोग गर्दा सचेत र जिम्मेवार बन्न, अपरिचित व्यक्तिसँग व्यक्तिगत जानकारी तथा गोप्य विवरण साझा नगर्न र अनलाइन गतिविधिमा सावधानी अपनाउन आग्रह गरिएको थियो।
सचेतना मूलक कक्षामा सहभागी विद्यार्थीहरूले वक्ताका भनाइ तथा प्रस्तुत विषयवस्तुलाई ध्यान पूर्वक सुनेका थिए। यस्ता कार्यक्रमले विद्यार्थीहरूमा साइबर अपराध सम्बन्धी कानुनी ज्ञान अभिवृद्धि गर्नुका साथै डिजिटल माध्यमको सुरक्षित र जिम्मेवार प्रयोग गर्ने बानी विकास गर्न सहयोग पुग्ने विश्वास गरिएको छ।