बहुदरमाई मेलामा वीरगञ्ज कपडा बैंकको सेवा, श्रद्धालुलाई १ हजार ५०० थान कपडा वितरण

67

वीरगञ्ज, मंसिर १० । पर्साको बहुदरमाई मेलामा वीरगञ्ज कपडा बैंकले निःशुल्क कपडा वितरण गरेको छ। कार्तिक पूर्णिमा स्नानको अवसरमा बहुदरमाई नगरपालिका–२ ध्यानचन्द पिपरामा लागेको पाँचदिने मेलाको तेस्रो दिन बैंकले श्रद्धालु भक्तजनलाई करिब १ हजार ५०० थान नयाँ तथा पुराना कपडा वितरण गरेको हो।

मेलामा सहभागी हुन आएका श्रद्धालु तथा आवश्यकतामा रहेका व्यक्तिहरूलाई लक्षित गरी कपडा वितरण गरिएको बैंकका सदस्य एवं युवा समाजसेवी नवराज भट्टराईले जानकारी दिए। धार्मिक मेलामा आउने सर्वसाधारणलाई लक्षित गरी सामाजिक सेवाको उद्देश्यले कार्यक्रम आयोजना गरिएको उनले बताए।

वीरगञ्ज कपडा बैंकका अध्यक्ष लालबाबु सिंहको अध्यक्षता तथा युवा समाजसेवी केदार गुप्ताको संयोजनमा कार्यक्रम सम्पन्न भएको थियो। कार्यक्रममा समाजसेवी विन्देश्वरी प्रसाद कुर्मी (पटेल), डा. कुमोद ठाकुर, युवा समाजसेवी नागेन्द्र प्रसाद यादव, राजु पटेल, धीरेन्द्र ठाकुर, बैंकका सल्लाहकार श्रवणबहादुर रायमाझी लगायतको उपस्थिति रहेको थियो।

त्यसैगरी बैंकका सदस्य शिव श्रेष्ठ, सुरज श्रीवास्तव, कर्मचारी मिथलेश श्रीवास्तव तथा सञ्चारकर्मी रामजी यादव र श्रीराम कुमार साह लगायतको सहभागिता रहेको थियो।

कार्यक्रममा सहभागी समाजसेवी तथा अतिथिहरूले वीरगञ्ज कपडा बैंकले सहरी क्षेत्रदेखि ग्रामीण भेगसम्मका विपन्न, असहाय तथा आवश्यकतामा रहेका व्यक्तिलाई नयाँ तथा पुराना कपडा उपलब्ध गराउँदै आएको सेवाको प्रशंसा गरेका थिए। कसैले पनि कपडाको अभावमा कठिनाइ भोग्न नपरोस् भन्ने उद्देश्यले सञ्चालन गरिएको यस्तो अभियानमा सबैले आ–आफ्नो क्षमता अनुसार सहयोग गर्नुपर्ने उनीहरूको भनाइ थियो।

कार्यक्रमका अध्यक्ष एवं बैंकका अध्यक्ष लालबाबु सिंहले ‘कोही नाङ्गो नरहोस्’ भन्ने मूलमन्त्रका साथ विगत सात वर्षदेखि बैंकले विपन्न तथा असहाय व्यक्तिलाई कपडा उपलब्ध गराउँदै आएको बताए। गत वर्षझैँ यस वर्ष पनि बहुदरमाई मेलामा आएर सेवामूलक कार्यक्रम गर्न पाउँदा खुसी लागेको उनले बताए।

सिंहले बैंकको अभियानलाई सफल बनाउन सहयोग गर्ने दाता, सल्लाहकार, शुभेच्छुक, समाजसेवी, पदाधिकारी, सदस्य तथा सञ्चारकर्मीप्रति आभार व्यक्त गरे। मानवता र सामाजिक उत्तरदायित्वलाई बलियो बनाउने उद्देश्यले यस्ता सेवामूलक गतिविधिलाई निरन्तरता दिइने पनि उनले बताए।

वीरगञ्ज कपडा बैंकले विगत सात वर्षदेखि विपन्न तथा असहाय परिवारलाई नयाँ तथा प्रयोग गर्न मिल्ने पुराना कपडा संकलन गरी निःशुल्क वितरण गर्दै आएको छ।

Leave A Reply

Your email address will not be published.