साना किसान कृषि सहकारी संस्थाको पाँचौ वार्षिक साधारण सभा सम्पन्न
कार्तिक २ बारा, आनन्द पटेल
साना किसान कृषि सहकारी संस्था लिमिटेडको पाँचौ वार्षिक साधार सभा शुक्रबार सम्पन्न भएको छ। बाराको प्रसौनी गाउँपालिका वडा नं २ प्रसौनी बजारमा कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रमको प्रमुख अतिथि प्रसौनी गाउँपालिका प्रमुख विनोद प्रसाद जैसवालले शुभकामना दिँदै
महिलाहरुको सक्रिय सहभागीताले यो सहकारी आज धेरै उपलब्धि गरेको बताए । उनले भने समाजमा महिलाहरुको समूह सक्रियता भएको खण्डमा आर्थिक उन्नति प्रगति अगाडि बढाउन ठूलो मद्दत पुग्ने जसले घर खर्च देखि बचत गर्ने परिपाटीको विकास हुने र अनावश्यक खर्च कटौती गरेर कृषि क्षेत्रमा लगानी गर्न प्रमुख जैसवालले आग्रह गर्नुभयो ।
साथै उनले मधेस प्रदेश कृषिमा आधारित भएकोले यसको उन्नति र विकास कसरी गर्ने र गरिबी अन्त गर्ने भन्ने बारेमा यो साना किसान सहकारी संस्थाले काम गरुन् भनेर सुझाव दिए । प्रमुख अतिथि जैसवालले कुनै पनि संस्थामा राजनीतिकरण गर्न नहुने यद्यपि राजनीतिक भएको खण्डमा संस्था उकालो होइन ओरालो तिर जाने भएकोले संस्थागत विकासको लागि ध्यान दिन संचालक समितिका पदाधिकारी तथा शेयर सदस्यहरुलाई आग्रह गरे । उनले यस संस्थाको विकास र उन्नतिका लागि आफू र आफ्नो सम्पूर्ण टीम गाउँपालिकाबाट सक्दो सहयोग गर्न तयार रहेको बताए ।
वि। स। २०७५ सालबाट ३५ जनाको समूहले रु ५ लाख लगानी गरेर स्थापना गरेको यो संस्था अहिले ६१८ जना शेयर सदस्य रहेको र खुद मुनाफा रु १२ लाख ८३ हजार र १०५ शेयर बोनस दिने काम गरेको संस्थाका प्रबन्धक निर्देशक विकास यादवले बताएका छन् । संस्थाले उत्कृष्ट बचतकर्ता र उत्कृष्ट ऋणीगरी १८ जना महिलाहरुलाई सम्मान गरेको थियो । संस्थाले अहिले आफ्नो सदस्यहरुमा रु ५ करोड ५४ लाख लगानी गरेको छ भने बाहिरी ऋण २ करोड २७ लाख लिएको प्रबन्धक यादवले बताए ।
वार्षिक साधारणसभामा प्रहरी निरिक्षक सुरेशराज भट्ट ,संस्थाका उपाध्यक्ष किरण साह,वडा नम्बर १ का वडा अध्यक्ष लालबाबु मुखिया ,पुष्प खतिवडा ,कबिता कुमारी ,शम्भु राज सहनी ,कार्यालय सहयोगी प्रमोद राम लगायतले आ,आफ्नो धारणा राख्नु भएको थियो । संस्थाका अध्यक्ष रुना देवी कलवारको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।
संस्थाको वार्षिक आय ब्याय कोषाध्यक्ष आशा देवी कलवारले प्रस्तुत गरेकी थिइन् भने कार्यक्रमको स्वागत मनतब्य देवी न्यौपानेले गरेका थिए। सो अवसरमा गाउँपालिका उपाध्यक्ष किरण देवी साह लगायत प्रसौनी गाउँपालिका वडा अध्यक्षहरुको उपस्थिति रहेको थियो ।