सशस्त्र प्रहरीद्धारा विभिन्न नाकाबाट अवैध रुपमा नेपाल ल्याउँदै गरेको १८ लाख भन्दा बढीको सामान बरामद
वीरगञ्ज । सशस्त्र प्रहरीले पर्साको विभिन्न नाकाबाट अवैध रुपमा नेपाल ल्याउँदै गरेको १८ लाख ५८ हजार १ सय ३५ रुपैयाँ बराबरको भन्सार छलीका सामान बरामद गरी वीरगञ्ज भन्सार कार्यालयमा बुझाएको छ। सशस्त्र प्रहरी नायब उपरीक्षक विष्णुहरि घिमिरेका अनुसार शनिबार र आइतबार गरिएका नियमित चेकजाँचका क्रममा उक्त परिमाणको अवैध सामान बरामद गरिएको हो।
प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगञ्जबाट खटिएको सशस्त्र प्रहरी टोलीले आइतबार वीरगञ्ज महानगरपालिका–१६ ईनर्वा नजिकका विभिन्न सीमा नाकाबाट १४ लाख ६० हजार ४ सय ४५ रुपैयाँ बराबरका किराना, कपडा, कस्मेटिक्स, मोटर पार्ट्स, मोबाइल एसेसोरीज, इलेक्ट्रोनिक्स तथा मेडिकल सामग्री बरामद गरेको छ।
यसका साथै, बोर्डर आउट पोष्ट ड्राइपोर्टबाट खटिएको अर्को टोलीले वीरगञ्ज महानगरपालिका–२५ चण्डाल चोकमा चेकजाँच गर्दा १ लाख ६९ हजार ६ सय रुपैयाँ मूल्य बराबरका जुत्ता, कपडा र किराना सामान बरामद गरेको छ।
शनिबार, प्रस्तावित सीमा सुरक्षा गुल्म अलौको टोलीले वीरगञ्ज महानगरपालिका–१९ बर्वा क्षेत्रमा गरेको चेकजाँचका क्रममा २ लाख २८ हजार ९० रुपैयाँ बराबरका किराना सामान, इलेक्ट्रिक उपकरण, मोटर पार्ट्स, कपडा तथा खेलौनाका सामग्री बरामद गरेको छ।
सशस्त्र प्रहरीले सीमा क्षेत्रमा नियमित चेकजाँच गर्दै अवैध व्यापार र भन्सार छलीका क्रियाकलाप नियन्त्रणमा निरन्तर कडाइ गरिरहेको बताएको छ।