वीरगञ्जमा भोलीदेखि चार दिने रात्रि बजार सञ्चालन हुँदै
आइतबार, कात्तिक ११, २०८१
वीरगञ्ज । वीरगञ्ज महानगरपालिका र ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्रको संयुक्त आयोजनामा यस वर्षको दिपावली पर्व लक्षित रात्रि बजार सोमवारदेखि सञ्चालन हुँदैछ। दिपावलीको रौनक थप्दै यो रात्रि बजारले आर्थिक गतिविधिलाई बढावा दिने महानगरका मेयर राजेशमान सिंहको विश्वास छ।
आदर्शनगर चोकदेखि पुरानो बसपार्कसम्मको क्षेत्रलाई समेटेर चार दिन चल्ने यो बजारले नजिकिँदै गरेको चाडपर्वको विशेष तयारी र झल्को दिनेछ। खानाका विभिन्न परिकार, लत्ताकपडा, कस्मेटिक्स, भाडाँकुडा, र अन्य सामग्रीका स्टलहरूले उपभोक्ताको आकर्षणलाई केन्द्रित गर्ने अपेक्षा गरिएको छ।
बजारमा नेपाली सांस्कृतिक परम्परालाई झल्काउने झाँकीका प्रस्तुति, चाडपर्वका शुभकामना आदानप्रदान कार्यक्रम पनि आयोजना गरिनेछ। वीरगंजमा आर्थिक गतिविधि बढाउन र व्यापारलाई प्रोत्साहन दिन यो बजारले सकारात्मक प्रभाव पार्ने मेयर सिंहले बताएका छन्। विशेषगरी रातिको समयमा बजारलाई चलायमान राख्दै व्यावसायिक लाभ बढाउन यो कदमलाई महत्त्वपूर्ण मानिएको छ।
यो रात्रि बजारले स्थानीय अर्थतन्त्रमा नयाँ आयाम थप्दै स्थानीय व्यवसायीलाई चाडपर्वमा अतिरिक्त आम्दानीको अवसर दिने र सांस्कृतिक एकता र सहकार्यलाई बलियो बनाउने आशा गरिएको छ।
महानगरपालिकाले यस अघि पनि रात्रि बजारको अवधारणा अघि सारेको भए पनि, उद्योगी व्यवसायीको असहयोगका कारण यसलाई निरन्तरता दिन नसकिएको वीरगञ्ज महानगर प्रमुख राजेशमान सिंहले बताउँदै आएका छन्।
उनका अनुसार, आर्थिक गतिविधिलाई प्रोत्साहन दिन र स्थानीय व्यापारलाई चलायमान राख्न रात्रि बजारको अवधारणा प्रभावकारी देखिए पनि, व्यवसायी समुदायको उत्साहजनक सहभागिता नहुँदा यसको योजना सफल हुन सकेको थिएन। यद्यपि यसपटक महानगरपालिकाले ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्रसँगको सहकार्यमा रात्रि बजारलाई पुनः सञ्चालन गर्दै व्यवसायीहरूको सहभागिता सुनिश्चित गर्न प्रयास गरिएको छ।
व्यवसायीहरूको पूर्ण सहयोग रहने हो भने रात्रि बजारले वीरगञ्जको आर्थिक गतिविधि वृद्धि गर्न ठूलो योगदान पुर्याउन सक्ने विश्वास लिएको सिंहले बताएका छन्।