घण्टाघरमा जडान गरिएको आकर्षक बत्ती पुनः तोडफोड
माघ,१४
वीरगञ्जको घण्टाघरमा जडान गरिएको आकर्षक बत्ती शनिवार राति तोडफोड भएको छ ।घण्टाघरलाई उज्यालो र आकर्षक बनाउन लगाइएको बत्ती तोडफोड गर्नुका साथै विद्युत् प्रवाहका लागि लगाइएको तार काटेर बिगारेको भेटिएको हो । यस अघि पनि घण्टाघरमा लगाइएको बत्ती तोडफोड भएको थियो ।वीरगञ्जलाई सफा सुन्दर बनाउन महानगर लागिरहेका बेला केही विकास विरोधी तत्त्वले त्यसलाई बिगार्न लागि परेको वीरगञ्जवासीले महसुस गरेका छन् ।महानगरपालिकाले घण्टाघरको सौन्दर्यीकरण कार्यक्रमअन्तर्गत घण्टाघरको रंगरोगन गर्नुका साथै बिजुली बत्तीको आकर्षक साजसज्जा गरेको थियो । सौन्दर्यीकरण गरिएपछि रातको समयमा बत्तीको साजसज्जाले घण्टाघर परिसर आकर्षक देखिने गरेको छ ।सौन्दर्यीकरणपछि घण्टाघरलाई पृष्ठभूमिमा राखेर तस्बिर खिच्ने तथा भिडियो बनाउनेहरूको बाक्लो उपस्थिति घण्टाघर वरिपरि लाग्ने गरेको छ । महानगरले घण्टाघर सहित शंकराचार्यद्वार, पशुपति मन्दिर लगायत सडकका पोलमा समेत आकर्षक बत्तीको साजसज्जा गरेको छ ।महानगरका प्रमुख राजेशमान सिंहले सौन्दर्यीकरण गरिएका संरचना तोडफोड र चोरी हुनु निन्दनीय रहेको बताए ।