बिपिएस+२ का विद्यार्थीद्वारा मानव सेवा आश्रमलाई खाद्यान्न र लत्ताकपडा सहयोग, सरसफाइ अभियान समेत सञ्चालन
कार्तिक २२, वीरगञ्ज, आनन्द पटेल
बीरगञ्ज महानगरपालिका–९ मा अवस्थित बिपिएस+२ (BPS+2) कलेजका कक्षा ११ र १२ का विद्यार्थीहरूले तिहारको अवसरमा दैसी–भैलो कार्यक्रमबाट संकलित रकम प्रयोग गरी मानव सेवा आश्रममा आश्रित असहाय तथा विपन्न व्यक्तिहरूलाई खाद्यान्न र लत्ताकपडा सहयोग गरेका छन्। साथै विद्यार्थीहरूले आश्रम परिसरमा सरसफाइ अभियान सञ्चालन गर्दै सामाजिक उत्तरदायित्वको उत्कृष्ट उदाहरण प्रस्तुत गरेका छन्।
शनिबार सम्पन्न सो कार्यक्रममा विद्यार्थीहरूले चामल, दाल, तेल, नुन, साबुन, कपडा लगायत दैनिक उपभोग्य सामग्री हस्तान्तरण गरेका थिए। कार्यक्रम बिपिएस+२ का निर्देशक दीपक पटेल, एचआर निर्देशक सन्दीप कुशवाहा, शिक्षक–शिक्षिका, विद्यार्थी प्रतिनिधिहरू तथा मानव सेवा आश्रमका सञ्चालकहरूको उपस्थितिमा सम्पन्न भएको थियो।
निर्देशक दीपक पटेलले भने, “विद्यार्थीहरूले दैसी–भैलोबाट संकलित रकमलाई केवल रमाइलोमा सीमित नराखी समाजसेवामा उपयोग गरेर प्रशंसनीय उदाहरण प्रस्तुत गरेका छन्। यसले विद्यार्थीहरूमा मानवीय भावना, सेवा भावना र सहानुभूतिको विकासमा ठोस योगदान पुर्याएको छ।”
सो अवसरमा विद्यार्थीहरूले असहाय तथा वृद्ध आश्रितहरूसँग संवाद गर्दै सहयोग गर्न पाउँदा आत्मसन्तुष्टि महसुस भएको बताए। उनीहरूले आगामी दिनमा पनि यस्ता मानवतामूलक कार्यलाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गरे।
मानव सेवा आश्रमका प्रतिनिधिहरूले बिपिएस+२ कलेजका विद्यार्थी तथा प्रबन्धन टीमप्रति आभार व्यक्त गर्दै भने, “युवापुस्तामा विकास हुँदै गएको यस्ता सकारात्मक सोच र समाजसेवी भावनाले अन्य संस्थाहरूका युवाहरूलाई पनि प्रेरणा प्रदान गर्नेछ।”
कार्यक्रममा शिक्षक विशेष दुबेढी, रेशम पटेल, रवि यादव, कृति चौधरी लगायतको पनि उपस्थिति रहेको थियो।