पर्सा प्रहरीको अपरेसनमा ३६ लाख भन्दा बढीको गरगहना सहित चारजना पक्राउ
मंसिर ३, पर्सा । आनन्द पटेल — पर्सा प्रहरीले ठूलो परिमाणमा सुन–चाँदीका गरगहना तथा नगदसहित चोरीमा संलग्न एक समूहका चार जनालाई नियन्त्रणमा लिएको छ। वडा प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले वीरगन्ज महानगरपालिका–३२ जीतपुरबाट मिलन चौक तर्फ जाँदै गरेको लु ९६ प ३७३३ नम्बरको स्कुटी चेकजाँच गर्ने क्रममा ठूलो परिमाणमा सुन–चाँदीका गरगहना फेला पारेपछि उक्त समूहमाथि थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय पर्साले सञ्चालन गरेको विशेष अपरेसनका क्रममा वीरगञ्ज–३२ टेढा मुसहर टोलस्थित विधया कुमार नटको घरमा लुकाइछिपाई राखिएका गरगहनासमेत प्रहरीले फेला पारेको हो। बरामद गरिएका सुन–चाँदी तथा नगदको कुल मूल्य करिब रु ३६ लाख ७० हजार ५१ रुपैयाँ बराबर रहेको प्रहरीको भनाइ छ। पक्राउ परेकामा भारत बेतियाका विजय राय, शेख बुनाद, भारत आरा निवासी विनोद राउत तथा वीरगञ्ज–३२ टेढा बस्ने विध्या कुमार नट रहेका छन्। उनीहरू भारतबाट नेपाल प्रवेश गरी पर्सा तथा आसपासका क्षेत्रमा घरफोडी तथा चोरी गर्दै आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।
ढोका फोड्ने, जाली काट्ने, पर्खाल नाघेर घरभित्र पस्ने र मौका हेरी गरगहना, नगद तथा मूल्यवान सामग्री चोरी गर्ने काममा उनीहरू संलग्न रहेको खुल्न आएको छ। पक्राउ परेकाहरूको साथबाट सुनका सिक्री ११ थान, झुम्का २ थान, नथिया ३ थान, पातो सहित जडान माला २ थान, नट १ थान,औँठी १ थान, मांगटीका २ थान, चाँदीको पाउजो १० थान, चाँदीका सिक्का २ थान, विछिया ८ थान, हत्संकर २ थान, सुन–चाँदी तौल गर्ने तराजु १ थान, र नेपाली नगद रु ३६,७०,०५१ (छतिस लाख सत्तरी अजार एकाउन्न रुपौया) र भारतीय नगद रु ९,२०० बरामद भएको पर्सा प्रहरीले जनाएको छ।
बरामद गरिएका सम्पूर्ण सामान सहित उनीहरू विरुद्ध चोरी सम्बन्धी कसुरमा म्याद थप प्रक्रिया पूरा गरी थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिए। साथै, चाडपर्व तथा विभिन्न स्थानबाट लुटिएका गरगहना हुनसक्ने भएकाले संबंधित व्यक्तिहरूले प्रमाण सहित प्रहरीसँग सम्पर्क गर्न बस्नेतले आग्रह गरेका छन्।